सरकार अविचलित अघि बढ्छ, अब कसैले पनि विकास रोक्न सक्दैन : मन्त्री अधिकारी


 


काठमाडौँ, माघ २८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारका बारेमा अनेकन अफवाह फैलाइए पनि ती सवै भ्रम र अफवाह तोडदै सरकार अविचलित रुपमा अघि बढ्ने उदघोष गर्नुभएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरणका क्रममा मन्त्री अधिकारीले सो उदघोष गर्नुभएको हो ।

सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर पर्दैन, मन्त्री अधिकारीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।”

नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उहाँले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने बताउनुभयो ।

पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कठिनाइ नहुने उल्लेख गर्नुभयो ।

भ्रमण वर्षलाई सार्थक तुल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्सलाई) को प्रगति र प्रभावकारिताबिना मुलुकको पर्यटन उद्योग अगाडि बढ्न नसक्ने भन्दै उहाँले निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने पथप्रदर्शकको पनि जिम्मेवारी भएकाले आफूले सिकेका ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन उद्योगमा दक्ष जनशक्तिको माध्यमबाट प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन नयाँ पुस्ताका प्रदर्शकको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । टानका अध्यक्ष नवराज दाहालले मुलुकको पदयात्रा पर्यटनमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताउनुभयो ।

७३४ लाई पथ प्रदर्शक तालीम

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ७३४ लाई पथ प्रदर्शक सम्बन्धी तालीम दिइएको थियो । पर्यटन उद्योगमा आउन चाहने र यस क्षेत्रमा लागेकाको थप क्षमता अभिवृद्धि गर्न तालीम सञ्चालन गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्