तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा उपसभामुखको जोड


 


उर्लाबारी, माघ २७

प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पुर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज दिउँसो मोरङको उर्लाबारी नगरपालिकामा स्थानीय राजपत्र सार्वजनिक गर्नुहुँदै उपसभामुख तुम्वाहाङ्फेले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताउनुभयो । उहाँले जनतालाई सरकारको अनुभुति दिनपनि तीनवटै सरकार मिलेर अघि बढ्नुको बिकल्प नरहेको धारणा राख्नुभयो ।

उपसभामुख तुम्वाहाङ्फेले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरुबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताउनुभयो । विकाश निर्माणका विषयमा तीन वटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकाशले सही गति लिने विचार राख्नुभयो । स्थानीय तहमा जनताका निमित्त कसरी सजिलो गरी काम गर्न सकिन्छ भन्ने भावनाका साथ यहाँका घरघरमा सरकारको अनुभुति गराउन पनि स्थानीय राजपत्र प्रकाशित भएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको तेश्रो अधिबेशन बिधेयक अधिबेशनका रुपमा लिँदै अहिले धमाधम विधेयकमाथि छलफल भईरहेको बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नगरको विकाशका लागि जनप्रतिनिधिहरु लागिपरेको बताउनुहुँदै कर्मचारी र जनप्रतिनिधिबीच सहकार्यका साथ काम गर्नुपर्ने बताउनुभयो ।

मुलुकमा पहिलो पटक स्थानीय सरकार लागु गरिएकाले यसको कार्यान्वयनमा केही समस्याहरु आउने बताउनुहुँदै उहाँले सबै तहका जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य हुनुपर्ने बताउनुभयो । उर्लाबारी नगरपालिकाले २९ वटा ऐन, नियमावली र कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगरपालिका प्रमुख फागोले बताउनुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले स्वागत मन्तव्य तथा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्