नेकपाका नेता भीम रावलले दिए ओली र प्रचण्डलाई पार्टी फुट्ने चेतावनी


 


काठमाडौं माघ २७
नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सोही पार्टीका प्रभावशाली नेता भीम रावलले पार्टी फुट्न सक्ने चेतावनी दिएका छन् । भेनेजुएलाको राजनीतिक संकट र त्यसमा अमेरिकी गतिविधिको विषयमा जनाएको प्रतिक्रियाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘भेनेजुएला काण्ड’ ले विवाद बढेको छ । दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गरे ।

अमेरिकी दूतावासले त्यसपछि सरकारको आधिकारिक धारणा माग्यो । सोही क्रममा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले भेनेजुएला काण्डमा प्रचण्ड केही चिप्लिएको प्रतिक्रिया दिए । यसको जवाफ सार्वजनिक कार्यक्रम मार्फत प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना रहेको बताए ।

दुई अध्यक्षको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले पार्टी फुट्न सक्ने भन्दै संयमता अपनाउन सुझाव दिए । सामाजिक सञ्जाल ट्वीटर मार्फत संयमता अपनाउन ओली र प्रचण्डलाई आग्रह गरेका रावलले ट्वीटमा उल्लेख गरेका छन्, ‘ विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुध्दिमानी कार्य ठहरिने छ ।’

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्