नारायणकाजीका कारण प्रधानमन्त्री धेरै रुष्ट शिक्षा मन्त्रीको पद धरापमा ?


 


काठमाडौं, प्रधान मन्त्री कार्यालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शिक्षामन्त्रीबाट हटाउने कि भनेर छलफल प्रारम्भ भएको स्रोत बताउछ । शिक्षामन्त्री पोखरेलका कारणले भन्दा पनि उनको ‘बोस’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको आफ्नै पार्टीको सरकारका विरुद्धको लगातारको मोर्चाबन्दीका कारण प्रधान मन्त्री कार्यालयमा यस्तो छलफल भएको बालुवाटार स्रोत बताउछ ।

शिक्षा मन्त्रालयको जिम्मेवारी नारायणकाजी समूहको छ अनि डा. गोविन्द केसीलाई सरकारका विरुद्ध उचाल्दै हिंड्ने पनि नारायणकाजी नै हुन् भन्ने ठहर पनि प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रहेको साँघु स्रोतले बतायो ।

स्रोत भन्छ, सबैभन्दा ‘अनैतिक’ त कामरेड नारायणकाजी श्रेष्ठ यतिवेला भएका छन्, उनी पार्टीको प्रवक्ता रहिरहेका छन् । नारायणकाजी श्रेष्ठले एकपटक प्रवक्ताबाट राजीनामा दिएको भन्दै घुर्की नै लगाए फेरि आफैं त्यो पद सम्हालिरहेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध मोर्चा कस्न नारायणकाजी श्रेष्ठले आफ्नै निवास हरिसिद्धिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमलाई बोलाए र अध्यक्ष ओलीबाट सरकारको नेतृत्व असफल भइसकेको कुरा उनले राखेको प्रधानमन्त्री निवास वालुवाटारमा खबर पुगेको स्रोत बताउछ ।

धुर्मुस–सुन्तली जस्तै पार्टीका नाममा मागी खाने भाँडो बनाएको महोत्तरीको ‘सामाजिक काम’ मा प्रचण्ड र माधवकुमार नेपाललाई लगेर सार्वजनिकरुपमा सरकारका विरुद्ध मोर्चा कस्ने नारायणकाजीको गुरुयोजना प्रचण्ड त्यहाँ नगएर असफल भयो । प्रचण्ड जाने भनेर व्यापक प्रचार पनि गरिएको थियो ।

पार्टीभित्र अन्तरविरोध बढाइदिएर सत्तामा टाँसिने प्रवक्ता नारायणकाजी श्रेष्ठको रणनीतिलाई राम्रोसंग बुझेका कौशल नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणकाजी समूहलाई मन्त्रालयबाट विदा दिएर पूर्व माओवादी समूहकै अर्काे कोही मन्त्री ल्याउन प्रचण्डसंग सल्लाह गर्ने तयारीमा प्रम ओली रहेको प्रधान मन्त्री निकट वालुवाटार स्रोतले जनाएको छ ।

‘माओवादी एकीकृत रहेको अवस्थामा कहिले किरण लागेर प्रचण्डसंग लड्ने कहिले बाबुराम भट्टराईसंग टाँसिएर प्रचण्डविरुद्ध लड्ने अनि उनीहरुलाई पार्टीबाट वाहिर निकालेर सत्ताको चास्नीमा नारायणकाजी सधैं रमाएको जस्तो अवसर कौशल नेता तथा प्रधानमन्त्री ओली नदिने’, बालुवाटार निकट नेकपाका एक नेताले बताए ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्