विवाहमा खुकुरी हानाहान : प्रहरी र स्थानीयसहित नौ जना घाइते


 


सिन्धुली, २७ माघ मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । माघ २६ गते बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना स्थानीय घाइते भएका छन् ।

झडपमा परी इप्रका कपिलाकोटमा कार्यरत प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका छन् । यस्तै प्रहरीले चलाएको गोली लागेर मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन् । उनको दाहिने पातामा गोली लागेको छ । प्रहरी र स्थानीयबीचको झडपलाई रोक्न माघ २६ गते बेलुका प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक सिंहले बताए ।

घाइते मोक्तानको कपिलाकोटस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलीखेल पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । घाइते प्रहरीहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यही माघ २४ गते मरिण गाउँपालिका–६ धमिले निवासी श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार सोही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए ।

शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले माघ २५ गते शुक्रबार नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले बताए ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्