प्रचण्डलाई इश्वर पोख्रेलको कडा प्रहार ”धेरैको मन मुटु भत्भती पोलिरहेको छ”


 


२६ माघ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले कम्युनिस्ट पार्टीको दुई तिहाइको हैसियत देशी बिदेशी प्रतिक्रियावादीलाई पच्न नसकेको भन्दै अत्यन्तै होसियारी पुर्वक सरकार र पार्टीको काम अघि बढाउनुपर्ने धारणा अघि सारेका छन् ।

केही दिनयता भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच द्वन्द्व बढिरहेका बेला शनिबार पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध कडा वक्तव्य दिएका अध्यक्ष प्रचण्डले शुक्रबार मात्र सरकारको कार्यशैलीमाथि प्रहार गरेका थिए । प्रचण्डले सरकारको आलोचना गरेको भोलिपल्ट नै पोखरेलले उनैलाई लक्षित गरी अहिलेको राजनीतिक परिस्थिति र पार्टी एकताका सन्दर्भमा आफ्ना भनाई राखेका हुन् ।

उनले अहिलेको परिस्थिति पचाउन नसक्नेहरु नेकपा र सरकारबिरुद्ध कसरी योजना बुन्न सकिन्छ भन्दै हातमा पुल्ठा लिएर बसेकोले सरकार र पार्टीले आवश्यक सोची बिचारी काम गर्नूपर्ने आवश्यकता औलयाएका छन् ।

‘होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ । आमरूपमा आउने गरेका, उठ्ने गरेका प्रश्नहरू, जिज्ञासा, आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ,’ पोखरेलले बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेको तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै रहेको उनको भनाई छ ।

‘त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ । त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न, डढेलो सल्काउन ज्यान फालेर लागेका छन्, पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन्,’ उपप्रधानमन्त्री पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् ।

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्