यस्तो रह्यो उर्लाबारीको राधिका माविको स्वर्ण महोत्सव उद्घाटन (फोटो फिचरसहित)


 


उर्लाबारी, माघ २५

पूर्वी मोरङकै अग्रणी शैक्षिक संस्था उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव शुक्रवारदेखी सुरु भएको छ । महोत्सवको प्रदेश नं. १ का प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्घाटन गर्नुहुँदै तुम्बाहाङले साुमदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहमा शिक्षालाई माग र आवश्यकता बमोजिम प्राविधिक र व्यावसायिक बनाइनुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडाले आजको युग प्राविधिक शिक्षाको युग भएकाले केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पनि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

विगतका इतिहास पढाएर अहिलेको आधुनिक समयमा उपयुक्त नहुने बताउनुहुँदै सांसद् खतिवडाले वर्तमान सरकारले पनि सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभयो । सो अवसरमा विद्यालयको श्रीबृद्धिमा योगदान पुर्याउने र विद्यालयमा अध्ययन गरेर बिभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तित्वहरुलाई सम्मान् समेत गरिएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु डा. नवराज खतिवडा, विजय कार्की, विरबल थापा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले स्वर्ण महोत्सव स्मारक अनावरण गर्नुका साथैँ विद्यालयको स्मारिका समेत विमोचन गर्नुभएको थियो । स्वर्ण महोत्सव उद्घाटनको अवसरमा साँस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी समेत प्रस्तुत गरिएको थियो । पसो विद्यालयको स्वर्ण महोत्सव आजदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । स्वर्ण महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेपनि मौसमको खराबीका कारण उहाँ आउन सक्नुभएको थिएन ।

कार्यक्रममा राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्रपति भण्डारीको सन्देश पत्र पढेर सुनाईएको थियो । उद्घाटन कार्यक्रम विद्यालय व्वस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै, स्वर्ण महोत्सवको दोस्रो दिन भोली प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा कृषि विज्ञान लगायत प्रदर्शनीको उद्घाटन हुने बताइएको छ । भोली नै कविता वाचन तथा साहित्यिक कार्यक्रम,पूर्व शिक्षक,पूर्व सन्चालक समिति र समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने पूर्व विद्यार्थीलाई सम्मान गरिनेछ ।

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्