‘श्रीमान्’लाई पनि कारवाहीको तयारी, न्यायपरिषद्मा तानिए न्यायाधीश बानियाँ


 


काठमाडौं माघ २५

घुस लिएर मुद्दाको फैसला गर्ने गरेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ न्याय परिषद्मा तानिएका छन् ।

माघ १७ गते पाँच लाख नगद घुससहित पक्राउ परेका जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले घुस लेनदेन न्यायाधीशको निर्देशनमा गरेको बयान दिएपछि उनी न्याय परिषद्मा तानिएका हुन् ।

अख्तियारको हिरासतमा रहेका चालिसेले सेवाग्राहीसँग घुस रकम लिन न्यायाधीश बानियाँले निर्देशन दिएको बयान दिएका थिए ।

त्यसो त यसअघि चालिसेले आरोपीबाट घुस रकम लिने समयमा गरिएको कल रेकर्डमा पनि ‘आफ्ना लागि जम्मा १०–२० हजार र बाँकी सबै रकम ‘श्रीमान्’को लागि भएको बताएका थिए ।’

चालिसेले बयानमा न्यायाधीश बानियाँको नाम पोलेपछि प्रधानन्यायाधीशको निर्देशनमा न्याय परिषद्ले बानियाँलाई माघ २४ गते बिहिबार न्याय परिषद्मा तानेको हो । माघ २३ गते निर्णय गरेको भएपनि बानियाँलाई काज भत्ता नपाउने गरी न्याय परिषद्मा छानबिनका लागि तानिएको हो ।

माघ १८ गते नै ‘घुस खाने न्यायाधीश, पक्राउ पर्ने सुब्बा !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्