मेलम्चीको तोडियो ठेक्का, धरौटी जफत हुने


 


काठमाडौं, माघ २४ । मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडिएको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले ठेक्का तोडेको हो । मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णयसमेत गरेको छ ।

सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ । समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ । सरकारले माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) सीएमसीलाई पठाएको थियो । अन्तिम म्याद सकिँदासम्म सीएमसीले कुनै प्रत्युत्तर नदिएपछि ठेक्का तोड्ने निर्णय गरिएको समितिले जनाएको छ ।

ठेक्का तोडिए पनि आयोजना कसरी अघि बढाउने भन्नेबारे खानेपानी मन्त्रालय र समिति कुनै निर्णयमा पुग्न सकेको छैन । बैठकले आयोजना अघि बढाउने विभिन्न विकल्पसहितको प्रस्ताव छिट्टै तयार गरेर मन्त्रालयमा पेस गर्ने निर्णय गरेको छ । मन्त्रालयले जुन विकल्प अनुमोदन गर्छ, त्यसैका आधारमा आयोजना अघि बढाइने जानकारी समितिका एक अधिकारीले दिए ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्