मेयरज्यू ! सुन्दर शहरको सपना उडायो हुरीले ? विकास–निर्माण ठप्प


 


काठमाडौं माघ २३
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो नामजस्तै सुन्दर योजनाहरू निर्वाचित भएलगत्तै सार्वजनिक गरेका थिए । धेरैलाई लागेको थियो–विद्यासुन्दरले जनप्रतिनिधिविहीनताको न्यास्रो मेटिने गरी काम गर्नेछन् । तर, उनले नेतृत्व गरेको महानगरपालिकाको प्रस्तुति निकै नै फितलो, गएगुज्रेको र कमजोर देखिएको छ ।

अन्योलमा ऐतिहासिक सम्पदा निर्माण

काठमाडौं महानगरपालिकाभित्र रहेका कैयन ऐतिहासिक सम्पदाहरू ०७२ को विनाशकारी भूकम्पले भत्किएका थिए । त्यसमध्ये एक हो–रानीपोखरी । तर, यसको निर्माण अझै अन्योलमा छ । यसको निर्माण प्रक्रिया नै अझै टुंगो लाग्न सकेको छैन ।

कमलपोखरीको पुनर्निर्माण पनि उसैगरी अन्योलमा परेको छ । पुनर्निर्माण टेन्डर प्रक्रियामा गए पनि निर्माण कहिलेबाट सुरु हुने भन्ने अन्योल यथावत छ ।

बजेट कार्यान्वयन सुस्त

देशका महानगरपालिकामध्ये सबैभन्दा बढी चर्चामा रहेको काठमाडौं महानगरपालिकाले मेयरले सार्वजनिक गरेको योजनाअनुरुप काम गर्न कुनै जाँगर देखाएको छैन । महानगरले गति लिन नसक्दा बजेट कार्यान्वयन निकै फितलो देखिएको छ । महानगरपालिकाका अनुसार, चालू आर्थिक वर्षमा कूल बजेटको १७ प्रतिशत मात्रै खर्च भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्षका लागि कुल १२ अर्ब ४ करोड ११ लाख ५७ हजार बजेट विनियोजन गरेकोमा मात्रै १७ प्रतिशत बजेट खर्च गर्न सकेको हो ।

वडा कार्यालय स्थापना अलपत्र

महानगरपालिकाले अघि सारेका विभिन्न योजनामध्ये प्रत्येक वडामा आफ्नै कार्यालय भवन बनाउने पनि समावेश छ । महानगरपालिकाका अनुसार, आफ्नै वडा कार्यालय निर्माणका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगरपालिकाले आफ्नै वडा कार्यालय स्थापनाका निम्ति कुस्ता बजेट विनियोजन गरेको भए पनि यसले गति लिन सकेको छैन । झण्डै आधा दर्जन वडाको काम योजनाअनुरुप अघि बढे पनि बाँकीको काम अन्योलमा छ ।

‘मेयर उज्यालो’ कार्यक्रम अन्तर्गत ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो योजनाअन्तर्गत ३२ वटै वडामा ८ हजार सडक बत्ती राख्ने महानगरको सोच छ । तर, अन्य योजनाकै नियति यसले पनि भोगेको छ ।

यस्ता कार्यक्रम अघि बढाउन सुरुमा वडाहरूसँग विवरण माग्नु उचित हुन्छ । तर महानगरपालिकाले भर्खरै वडाहरूसँग सडक बत्तीको आवश्यकताबारे विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । महानगरपालिका स्रोतका अनुसार, चालू आर्थिक वर्षको ६ महिना गुज्रिसक्दा पनि महानगरपालिकाले मात्रै ६ सय बत्ती जडान गर्न सकेको छ ।

उदेकको कुरा त के छ भने उसले लक्ष्य अनुरुप कार्य गर्न नसकेको महानगरपालिकालाई प्रगति विवरणको सूची तन्काउने दुःखले भने सताउने गरेको छ । महानगरपालिकाले पछिल्लो ६ महिनामा ५८ वटा कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । यसमा कतिपय हास्यास्पद् विषयलाई पनि आफ्ना प्रगतिमा समेटेको छ । त्यसकै एउटा उदाहरण हो– रानीपोखरी । महानगरपालिकालगायतको बेवास्ताका कारण ऐतिहासिक रानीपोखरी फुटबल मैदानमा परिणत भएको छ ।

विद्यासुन्दरको असफलताको गतिलो उदाहरण पेश गर्दा यही रानीपोखरीलाई अघि सार्ने गरिएको छ । तर, विद्यासुन्दर नेतृत्वको महानगरपालिकाले प्रगतिको सूचीमा यही रानीपोखरीलाई पनि समावेश गरेको छ । रानीपोखरीमा छुट्याइएको बजेटलाई महानगरपालिकाले आफ्नो प्रगति मानेको हो । स्मरणीय छ, महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि १७ करोड बजेट छुट्ट्याएको छ ।

जसका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारी महानगरले गरेको छ । तर, उसले आफ्नो प्रगति विवरणमा बजेट छुट्ट्याउनुलाई पनि प्रगतिकारुपमा प्रस्तुत गरेको छ ।

काठमाडौं चक्रपथमा मोनोरेल सञ्चालनका लागि चीनको सीआरसीसी कम्पनीसँग डीपीआर सम्झौता भएको, महानगरका विभिन्न स्थानमा स्मार्ट सोलार डस्टबिन राखिएकोलाई पनि महानगरपालिकाले आफ्ना प्रगति मानेको छ । (साँघु साप्ताहिक

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्