मोदीको सम्पत्ति कति ? दिल्लीमा बैंक खाता नै छैन


 


नयाँदिल्ली माघ २३
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा कति सम्पत्ति होला त ? भारतीय मात्रै नभएर अन्य मुलुकका नागरिकलाई समेत चासोको विषय हो यो ।

भारतीय मिडियाहरूले बताएअनुसार मोदीको साथमा २ करोड २८ लाख रूपैयाँ बराबरको सम्पत्ति छ । उनले १५ वर्षअघि खरिद गरेको घरको १ करोड २८ लाख सहित सो रकम मूल्यांकन गरिएको हो ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार सामान्यतः मोदीको साथमा ५० हजारभन्दा बढी रकम हुँदैन । सन् २०१८ को अन्त्यतिर सार्वजनिक गरिएको तथ्यांक हो यो ।

जब कि, केही वर्षअघिसम्म उनको चल–अचल सम्पत्ति जम्माजम्मी डेढ करोड थियो । सन् २०१४ को अगस्टसम्मको तथ्यांक निकाल्दा ३८ हजार रूपैयाँ साथमा राख्ने उनले सन् २०१८ मा ५० हजार रकम साथमा छ ।

यस्तै, मोदीको आफ्नै निजी गाडी, एयरक्राफ्ट, पानीजहाज जस्ता विलासी सवारी साधनसमेत नरहेको प्रधानमन्त्री कार्यालयलाई हवाला दिँदै मिडियाले उल्लेख गरेका छन् ।

रोचक तथ्य त के भने, ‘जी–२०’ मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजधानी नयाँदिल्लीमा बैंक एकाउन्ट समेत नरहेको बताइएको छ । बरु उनको निर्वाचन क्षेत्र गुजरातमा भने बैंक एकाउन्ट छ ।

उनको कुल सम्पत्ति अन्तरगत नै गुजरातको गान्धीनगरस्थित एसविआई बैंकमा ११ लाख रकम छ । उनले १ करोड ७ लाख रकम चाहीँ ‘फिक्स डिपोजिट’ गरेका छन् ।

साथै उनले कुनै बैंकबाट ऋण समेत लिएका छैनन् । यस्तै बहुमुल्य सुन, हिरा जस्ता गहना पनि उनको साथमा नरहेको बताइन्छ । सबै गरी डेढलाख रूपैयाँ बराबरको ४५ ग्राम गहना उनको साथमा रहेको रिपोर्ट छ ।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्