नायिकाको घरमा भेटिए तीन बालिका, मानव तस्करीको आशंका
माघ २२ एजेन्सी
दक्षिण भारतीय अभिनेत्री भानुप्रियाको घरबाट तीन बालिकालाई रिहा गरिएको छ । एक बालिकाकी आमाको ऊजुरीपछि सोमबार चाइल्ड लाइनका अधिकारीले अभिनेत्रीको चेन्नईस्थित घरमा अनुसन्धान गर्दा ती बालिका भेटिएका हुन् ।
आन्ध्रप्रदेश पुलिसले भानुप्रियाका भाइविरुद्ध पनि एफआईआर दर्ता गरेको छ । उता, अभिनेत्रीले बालिका र उनकी आमामाथि चोरीको आरोप लगाएकी छिन् ।
बालिकाकी आमाले आन्ध्रप्रदेशमा समालकोट पुलिसलाई मुद्दा दर्ता गरेकी थिइन् । यसमा उनले आफ्नी छोरीलाई घरमा जबर्जस्ती कामका लागि राखिएको बताएकी छिन् । त्यसको बदलामा कुनै पैसा पनि नदिएको उनले बताइन् । काम दिने एजेन्टले १० हजार तलब दिने बचन दिएका थिए । ती महिलाले भनिन्, ‘केही दिन अघि छोरीले एक व्यक्तिलाई फोन गरिन् । छोरीले ती व्यक्तिलाई अभिनेत्रीको घरमा कुटपिट र यौन शोषण हुने गरेको बताइन् । त्यसपछि म जनवरी १८ मा छोरीलाई भेट्न चेन्नई गएँ, तर मलाई घर बाहिर नै रोकियो । ’
ती बालिकाले यौन शोषणको जानकारी दिएः कार्यकर्ता
बाल अधिकार कार्यकर्ता अच्युत रावले यसबारे राज्य र राष्ट्रिय बाल अधिकार संरक्षण आयोगलाई पत्र लेखेको थियो । आयोगबाट अनुमती पाएपछि भानुप्रियाको घरमा कारवाही गरियो । बालश्रम कानून उल्लंघनको मामलामा भानुप्रियालाई पक्राउ गर्ने माग गरियो । रावले अभिनेत्रीको घरमा बालिका भेटिनुका कारणबारे पूरा अनुसन्धान हुनुपर्ने बताए । यदि कोही विचौलिया आन्ध्रप्रदेशबाट बालिकाहरु ल्याइरहेका छन् भने यसलाई मानव तस्करीको आशंका गर्न सकिन्छ । बालिकाहरुले आफूमाथि यौन शोषण भएको जानकारी दिएका छन् ।
५२ वर्षे भानुप्रिया तेलुगु, तमिल र मलयालम फिल्मकी चर्चित अभिनेत्री हुन् । उनले ती बालिका र उनीहरुका आमाविरुद्ध चोरीको मुद्दा दर्ता गरेका छिन् । उनका अनुसार बालिकाहरुले गहना र ग्याजेट्स चोरेर आफ्ना आमालाई दिएका छन् । जब महिलालाई चोरी गरिएको सामान फिर्ता दिन भनियो तब उनले आइप्याड फिर्ता दिइन् । उनले केही दिन अघि क्यामरा र घडी फिर्ता दिएको बताइन् ।
प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार