तस्बिर नै काफि छ नेपाल अमेरिका सम्वन्धको लागि


 


काठमाण्डौ माघ २१
यतिबेला नेपालमा भेनेजुयलामा अमेरिकी हस्तक्षेपप्रति पक्ष विपक्षमा मतहरु आइरहेका छन् । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्तिले नेपाल–अमेरिका बीचको कूटनीतिक सम्बन्ध बिग्रिएको र पछि नेपाल सरकारका तर्फबाट निकालिएको विज्ञप्तिबाट पनि अमेरिका रुष्ट रहेको चर्चा चलिरहेको छ ।

विपक्षी काँग्रेसले संसदीय दलको बैठक नै डाकेर अमेरिकाको पक्ष लिन पुग्यो । संचार माध्यमहरुमा जति भेनेजुयलाको चर्चा छ आम नागरिकलाई यस्को खासै मतलब छैन । चर्चामा भेनेजुयला प्रकरण रहेकै समयमा सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी एउटै मञ्चमा देखा परेका छन्। परराष्ट्रमन्त्री ज्ञवाली मुख्य अतिथि र राजदूत बेरी विशेष अतिथिका रूपमा नेपाल सरकार, पर्यटन बोर्ड र अमेरिकी दूतावासको आयोजनामा आयोजित ’इंगलिस ल्यांग्वेज एन्ड अपेरेसनल स्किल्स ट्रेनिङ फर टुरिज्म एन्ड इमिग्रेसन अफिसियल्स’ अ‌ंग्रेजी भाषा प्रशिक्षण शुभारम्भ कार्यक्रममा उनीहरू सँगै देखा परेका हुन्। त्यस अवसरमा उनीहरूले सामूहिक तस्बिर पनि खिचाए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको र यसले नेपालमा आउने पर्यटकसँग सूचना आदानप्रदान गर्न तथा सत्कार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपालमा पर्यटक भित्र्याउनका लागि अमेरिकी सरकारले ठूलो सहयोग गरेको भन्दै मन्त्री ज्ञवालीले अमेरिकाको प्रशंसा गरेका थिए। राजदूत बेरीले नेपालमा गतवर्ष अमेरिकाबाट ९० हजार पर्यटक आएका र यो संख्या वृद्धि गर्नका लागि अमेरिकाको सहयोग जारी रहने बताएका थिए। बेरीले नेपालमा आउने अमेरिकी पर्यटकको संख्या बढ्दै जानु दुवै देशका लागि राम्रो भएको र यसलाई सौहार्द तरिकाले सघाउने बताएका थिए।तालिम मुलुकको विभिन्न चार ठाउँहरूमा श्रृंखलाबद्ध रूपले सञ्चालन गरिनेछ । तालिमबाट झन्डै ८० अध्यागमन अधिकृत, ५० पर्यटन अधिकारी र ४३ पर्यटक प्रहरी लाभान्वित हुने पर्यटन बोर्डले जनाएको छ ।

केहीदिन पहिले परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरूका लागि राखेको ब्रिफिङमा राजदूत बेरी पूर्वनिर्धारित कार्यक्रम रहेकाले अनुपस्थित भएका थिए। अमेरिकी राजदूतावासबाट दोस्रो तहका अधिकारी आएपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमा दरार आएको चर्चा चलेको थियो। परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालप्रति अमेरिका रुष्ट हुन्थ्यो भने परराष्ट्रमन्त्री ज्ञवाली प्रमुख अतिथि हुने कार्यक्रममा राजदूत विशेष अतिथि हुने थिएनन्। यथार्थमा फरक भए पनि नेपाल–अमेरिका सम्बन्ध बिग्रिएको भन्ने अनावश्यक हल्ला गरिएको उनको भनाइ थियो। कुनै पनि देशको सम्वन्ध तुरुन्तै बनि हाल्ने होइन र तुरुन्तै विग्रिहाल्ने पनि,सम्वन्ध त सदियौं देखिको अनबरत प्रयास हो ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्