अब दलाली नियन्त्रण गर्न सरकारले कडा नियम ल्याउदैं


 


काठमाडौं माघ २१
विदेशी कामदार माथिको दलाली नियन्त्रण गर्न जापानले कडा नियम ल्याउने तयारी गरेको छ । रोजगारीको खोजीमा रहेका विदेशी नागरिकहरुलाई काममा लगाइदिन्छु भन्दै मोटो रकम असुल्ने प्रवृति बढेपछि त्यस्ता दलालमाथिको नियमन कडा पार्ने सरकारी योजना बनेको जापानी अधिकारीहरुलाई उदृत गर्दै जापान टाइम्स अनलाइनले आफ्नो लेखमा लेखेको छ ।

सन् २०१९ को अप्रिलदेखि जापानले विदेशी कामदारको संख्या बढाउने तयारी गरेको छ । विदेशी एजेन्टसँग काम गर्ने जापानी प्लेसमेण्ट एजेन्सीका लागि कडा मापदण्ड तयार गर्न लागिएको छ । हाल सरकारी प्रयोजनमा रहेको प्राविधिक प्रशिक्षक कार्यक्रममा जाने विदेशी कामदारलाई दलालहरुले चरम आर्थिक शोषण गर्दा उनीहरुले निकै कष्ट झेल्नुपरेको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

जापान सरकारले त्यहाँको चरम श्रमिक अभाव कम गर्न अप्रिलबाट केही विशेष क्षेत्रमा थप विदेशी कामदार भित्र्याउने तयारी गरिरहेको छ । नेपाल पनि जापानको कामदार आपूर्ति गर्ने स्रोत मुलुकको रुपमा रहेको छ । तर कामदार आदानप्रदान सम्वन्धमा ठोस सहमति हुन वाँकी रहेको छ ।

श्रम मन्त्रालयले गत अक्टोबर मसान्तसम्म जापानमा कार्यरत विदेशी कामदारहरुको संख्या १४ लाख ६० हजार रहेको जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १ लाख ८० हजार अर्थात १४ प्रतिशतले बढि हो । जापानमा गत वर्ष औसतमा रोजगारीको खोजीमा रहेका एक सय व्यक्तिका लागि १६१ वटा रोजगारका अवसर उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात भएको बताइएको छ ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको जापानी समाचारपत्रहरुको आँकलन छ ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्