गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी
काठमाडौं माघ २०
हिउँद अर्थात् जाडो याममा हृदयघातको जोखिम बढी हुन्छ । गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुने बिशेषज्ञको भनाइ छ । चिसोको कारण नसा साँघुरिदा मुटुमा बढ्ने कार्यभारले ‘हर्टअट्याक’ निम्त्याउन सक्छ ।
हृदयघात अर्थात ‘हर्टअट्याक’ भनेको मुटुको कुनै पनि धमनीमा सतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्ने अवस्था हो । पछिल्लो समय नेपालमा हृदयघात बढेको मात्र छैन युवाअवस्था मै देखिन थालेको चिकित्सक बताउँछन् ।
जाडो मौसममा हृदयाघातको जोखिम बढी हुन्छ । र, बिहान ४ बजेदेखि ५ बजेको समय सबैभन्दा बढी जोदिमपूर्ण । चिसोमा चाँडै हुने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झर्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन ।
जसले हृदयघातको सम्भावना बढाउँछ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्दा हुने भिटामिन ‘डी’को कमी हुनु पनि हो । भिटामिन ‘डी’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
उच्च रक्तचाप हुने र धुम्रपान सेवन गर्नेमा हृदयघातको जोखिमा बढी हुन्छ । धुम्रपानमा हुने निकोटिनले नशा खुम्च्याउने भएकाले हृदयाघातको जोखिममा रहेका व्यक्तिले चुरोट सेवन गर्नु हुँदैंन ।
हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायाँतिर दुखे, छाती भारी भएर दुखिरहे अस्पताल पुग्नुपर्छ । पसिना आउनु र रिंगटा लाग्नु पनि हृदयाघात हुन सक्ने सम्भावनाको संकेत हो ।
बिशेषज्ञका अनुसार हृदयघात भएको एक घण्टाभित्र एक तिहाइ बिरामीको मृत्यु हुन्छ । यो अस्पताल पुग्न नपाउने संख्या हो । अस्पताल पुगेका पनि एक सयमा ९० जनालाई मात्रै बचाउन सकिन्छ ।
प्रकाशित मिति: २० माघ २०७५, आइतबार