सहमतिपछि कोलकाता बन्दरगाहमा रोकिएका कन्टेनर नेपाल आउन थाले


 


काठमाडौं माघ २०
‘क्लियरिङ एजेन्ट’सँग सहमति भएपछि भारतको कोलकाता बन्दरगाहमा रोकिएका कन्टेनर नेपाल आउन थालेका छन् ।

तेस्रो मुलुकबाट कोलकता बन्दरगाह हुँदै रेलबाट नेपाल आउने सामानमा कागजी प्रक्रिया हटाई ‘इलेक्ट्रिक कार्गो ट्रयाकिङ सिस्टम’ लागू हुने भएपछि समुन्द्रपार व्यापार सहजीकरण प्रतिनिधिले कार्गो ढुवानी बन्द गरेका थिए ।

कोलकतास्थित महावाणिज्यदूत र नेपालका आयातकर्ताको प्रतिनिधिको रूपमा काम गरिरहेका कस्टम हाउस एजेन्ट (सीएचए) प्रतिनिधिबीच भएको छलफलमा हाललाई कन्टेनर ढुवानी प्रक्रिया अगाडि बढाउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

कस्टम हाउस एजेन्टले चलान बन्द गरेपछि मंगलबारदेखि ५ सय बढी कन्टेनर कोलकतामा रोकिएका थिए । ट्रकमार्फत आजैदेखि सामान आउन थालेको र रेलमार्फत सोमबारदेखि आउने मन्त्रालयले जनाएको छ ।

छलफलमा एजेण्टका माग सम्वोधन गर्न आवश्यक निर्णय गर्ने सहमति भएको छ । एजेण्टका माग सम्वोधन नभएपनि १५ दिनपछि ‘इलेक्ट्रिक कार्गो ट्रयाकिङ सिस्टम’ लागू हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्