उर्लाबारीको विकाशका लागि कहाँबाट आयो बजेट ?


 


उर्लाबारी, माघ २०

तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न लागु भएको तराई–मधेस समृद्धि कार्यक्रम अन्र्तगत उर्लाबारी नगरपालिकामा रु ६५ लाख बजेट निकाशा भएको छ ।

यस क्षेत्रका प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडा र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उर्लाबारीका लागि सो बजेट अनुदान दिएको हो । सांसद् खतिवडाका अनुसार उर्लाबारी नगरपालिका – ३ मा धिमाल भाषा विद्यालय भवन निर्माणका लागि रु ३५ लाख अनुदान निकाशा भएको छ ।

सो रकममा स्थानीय तहले ३ लाख ५० हजार थप गरी कुल रु ३८ लाख ५० हजारको लागतमा विद्यालय भवन निर्माण हुनेछ । यस्तै उर्लाबारी नगरपालिका वडा नम्बर ८ र ९ को सन्थाल समुदायको अधुरो सामुदायिक भवन निर्माणका लागि मन्त्रालयले रु ३० लाख अनुदान निकाशा गरेको छ । सो अनुदान रकममा स्थानीय तहले रु ३ लाख थप गरी कुल ३३ लाखको लागतमा सामुदायिक भवन निर्माण हुनेछ ।

यसैगरी संघीय क्षेत्र विकाश कोष कार्यक्रम अन्र्तगत उर्लाबारी–८ र ९ दुर्गापुरी बजार पूर्व वडा कार्यालयसम्म र पश्चिमतर्फ रातेहोली कल्भर्टसम्म कालोपत्रे गर्न रु ५० लाख, बेतिनी सिमसार भौतिक पूर्वाधार निर्माणका लागि रु १५ लाख, उर्लाबारी बहुमुखी क्याम्पस भौतिक निर्माणका लागि रु १० लाख, उर्लाबारी –४ शान्तिमार्ग साझेदारी सडक कालोपत्रका लागि रु १५ लाख र उर्लाबारी –४ छाताचोक पश्चिम साझेदारी ड्रेन निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको सांसद खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्