स्थानीय तहमा सरकारी गाडीको चरम दुरुपयोग, सिक्नका लागि पनि गाडीको प्रयोग
दैलेख, २० माघ
स्थानीय तहमा सवारी साधन खरिद गर्ने होडबाजी नै चल्यो । ११ वटा स्थानीय तह रहेको दैलेखमा अधिकाँश स्थानीय तहले सवारी साधन खरिद गरिसकेका छन् । खरिद गरिएका सवारी साधनहरु दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ ।
नियमनकारी निकायले वास्ता नगरेका कारण समेत सरकारी नम्बर प्लेटका सवारी साधानको दुरुपयोग बढ्दै गएको हो । माघ १९ गते सार्वजनिक बिदाको दिन शनिबार विहान जिल्लाको महाबु गाउँपालिकाको गाडी सिक्नलाई प्रयोग गरिएको पाइएको छ ।
महाबु गाउँपालिकाको भर्खरै मात्र खरिद गरि ल्याइएको बा २ झ ४१५३ नम्बरको गाडी कार्यालयका कर्मचारी लगायतले सिक्नका लागि प्रयोग गरेको पाइएको हो । शनिवार विहान दैलेख सदरमुकामको काँडाचौरको खुल्ला मैदानमा उक्त गाडी सिक्नका लागि प्रयोग गर्दै गरेको भेटिएको हो । यो प्रतिनिधिमुलक घटना मात्रै हो ।
यस्तै जिल्लाका अन्य सरकारी गाडी पनि दुरुपयोग भइरहेका छन् । नारायण नगरपालिकाले पनि ११ वटा वडा कार्यालयको लागि मोटरसाइकल खरिद गर्यो । धेरैजसो वडा अध्यक्ष र कर्मचारीले मोटरसाईकल चलाउन समेत जान्दैनन् ।
प्राय ति मोटरसाईकल जनप्रतिनिधिका छोरा,भतिजा र अन्य आफन्तले र नातेदारले गुडाईरहेको भेटिन्छ । तर इन्धन र मर्मत खर्च भने हरेक महिना कार्यालयबाट भुक्तानी भैरहेको छ ।
सार्वजनिक बिदाको दिन शनिबार अत्यावश्यक परेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिएर मात्रै सरकारी सवारी साधन चलाउन पाइने प्रावधान रहेको छ ।
प्रकाशित मिति: २० माघ २०७५, आइतबार