बाबुराम किन गाउँ पसे ! कतै च्याब्रुङ ठोक्दै, कतै लौरो टेक्दै !


 


बिराटनगर न चुनावको मौसम, न कुनै राजनीतिक सरगर्मी । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला दुरदराजका गाउँ वस्तीमा पसेका छन् । देशको कार्यकारी प्रमख भइसकेको मानिसलाई लठ्ठी टेक्दै आफ्नै घरआँगनमा आएको देखेपछि पूर्वी पहाडका स्थानीयबासीले दलगत स्वार्थ नहेरी डा. भट्टराईको टोलीलाई स्वागत सत्कार गरेका छन् ।

माघ १५ गते पाँचथरको चिवा भञ्ज्याङस्थित उत्तरी सीमानामा पुगेर राष्ट्रिय गान गाउँदै यात्रा सुरु गरेका पूर्वप्रधानमन्त्री भट्टराई शनिबार भोजपुरमा आइपुगेका छन् ।

यसवीचमा उनले पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका विभिन्न गाउँहरुमा स्थानीयवासीसँग भेटघाट, छलफल र कोणसभाहरु गर्दै हिँडेका छन् ।

लिम्बु संस्कृतिको धनी मानिने पाँचथर र तेह्रथुमको यात्रामा डा. भट्टराईले च्याब्रुङ बजाएका तस्वीरसमेत सार्वजनिक भएका छन् ।

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले माघ १५ गतेदेखि फागनु १५ सम्म ‘पहाडी लोकमार्ग जनसम्वाद अभियान’ सुरु गरेको छ । पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएर बैतडीको झुलाघामा टुंगिने यो लोकमार्गलाई एक महिनामा छिचोल्ने डा. भट्टराईको योजना छ ।

संसदमा एक सीटको मात्रै प्रतिनिधित्व गर्ने सानो पार्टीले आयोजना गरेको यो अभियान खासै ठूलो समाचार होइन । तर, देशको प्रधानमन्त्री भइसकेको व्यक्ति लामो समयसम्म पहाडी गाउँहरुको यात्रामा निस्किनु नेपाली राजनीतिको एउटा रोचक परिघटना हो । त्यसैले हामीले यहाँ डा. भट्टराईको पाँचथरदेखि भोजपुरसम्मको यात्रालाई पछ्याउने प्रयास गरेका हौं ।

सुरुमा पाँचथर, तेह्रथुम र भोजपुरका गाउँको अभियानबारे नयाँशक्ति पार्टीकै प्रवक्ता डम्बर खतिवडाको शब्दमा यात्रा वर्णन सुनौं-

आज हाम्रो यात्रा सुरु भएको पाँचौं दिनको बिहान । हामीले १५ गते बिहान ८ बजे पाँचथरको चिवाभञ्ज्याङबाट यो कार्यक्रम सुरु गरेका हौं ।

यहाँहरुलाई थाहा छ, जसरी पुरानो ठूलो राजमार्गको सबैभन्दा पुरानो विन्दूलाई काँकडभित्ता भन्ने गर्छौं । त्यसैगरी यो मध्यपहाडी राजमार्गको सबैभन्दा पूर्वी विन्दू वा नेपालतिरको भागलाई चिवाभन्ञ्याङ भन्ने गरिन्छ । चिवा भन्ञ्याङको पारिपट्टी सिक्किम छ ।

चिवाभञ्ज्याङ अलिकति अग्लो, करिब ३१ सय मिटर अग्लाइमा रहेको भन्ञ्याङ हो । त्यहाँ हामी पुग्दा हिउँ परिरहेको थियो । डाँडाहरु सेताम्मे थिए, बाटो छेकिएको थियो र गाडीहरु चिप्लिएर त्यहाँ पुग्न अप्ठ्यारो भइरहेको थियो ।

तथापि, हामी तोकिएको समयमा १५ गते बिहान ८ बजे त्यो भन्ञ्याङमा पुगेका थियौं । र यो ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भन्ने अभियानलाई त्यहाँबाट सुरुवात गरेका थियौं ।

यो यात्रा एक महिना लामो छ । ठीक फागुनको १५ गते यसरी नै हामी यो राजमार्गको सबैभन्दा पश्चिमी विन्दू महाकालीको किनार झुलाघाट भन्ने ठाउँमा पुग्ने छौं । यी विन्दू मध्यपहाडी राजमार्गका दुई विन्दूहरु हुन् । यी विन्दूबीचको यात्रा माघ १५ गते तय गरेर फागुन १५ गतेसम्म यात्रामा गइरहेका छौं । फागनुन १५ गते दिउँसो २ बजेतिर बैतडी जिल्लाको गोठाला भन्ने ठाउँमा पुग्ने छौं । त्यहाँ पुगेर हामीले कार्यक्रमलाई समापन गर्ने छौं ।

हामी करिब २७ वटा जिल्लालाई छोएर यो यात्रामा जाने छौं । र, करिब ८६ वटा स्थानमा जनसंवाद हुनेछन् । भेटघाट र छलफल कार्यक्रम गर्ने छौं । ८६ स्थानमा करिब १५० सयवटा भेटघाट र छलफल गर्ने छौं । अन्तरसम्वाद कार्यक्रमहरु हुनेछन् । यी कार्यक्रमको मुख्य लक्ष्य भनेको असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद भन्ने रहेको छ ।

पार्टी त्यति महत्वपूर्ण कुरा होइन जति मानवता महत्वपूर्ण कुरा हो । त्यसर्थ, यसलाई केवल नयाँ शक्ति पार्टीको राजनीतिक अभियान भन्ने मात्रै नबुझिदिनु होला । यो एउटा जनतासँग वृहत संवाद हो । देशको एउटा स्थापित भइसकेको नेता, जो एउटा ठूलो पार्टीको तर्फबाट प्रधानमन्त्री भइसक्नुभयो उहाँले जीवनको उत्तरार्धतिर एउटा नयाँ राजनीतिक आन्दोलन सुरु गर्नुभयो ।

राजनीति भनेको केबल एउटा पार्टीको झण्डा बोकेर जुलुसमा जिन्दावाद मूर्दावाद गर्नु मात्रै होइन । राजनीतिको मुख्य उद्देश्य भनेको देशको तत्कालीन अवस्थामा तत्कालीन परिस्थितिमा तत्कालीन विश्व परिस्थितिमा त्यो राष्ट्रको भविष्य कतातिर मार्गनिर्देश भइरहेको छ ? त्यसमा के समस्या छन् र ती समस्यालाई चिन्ने र ती समस्याको समाधान दिने अन्तरविरोधको हल गर्ने पद्धतिको नाम नै राजनीति हो ।

त्यसैले आज नेपालमा समस्याहरु के हुन् ? अब नेपाललाई अगाडि बढाउन हामीले अब कस्तो बाटो तय गर्नुपर्छ ? यसमा एउटा गहिरो संवाद हुनुपर्छ । कुनै एउटा पार्टीले एउटा समूहको मान्छेले नेताले दुईचार जना मान्छेले लेखेर, भनेर, बोलेर हुँदैन । दुरदराजका गाउँलेले यसमा के सोच्नुहुन्छ ? तपाईहरुको धारणा आउनुपर्छ । हामी तपाईंको यो धारणालाई संकलन गर्न आएका छौं । यसलाई हामी कलेक्शन गर्छौं । प्रतिवेदन बनाउँछौं । तपाईंका कुराहरु सुन्छौं । र, राष्ट्रिय बसहमा यो मुद्दालाई उठाउने प्रयास गर्छौं ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्