‘देउवा सरकारले ढुकुटी रित्यायो वृद्धभत्ता बढाउन सकिएन, अब अवश्य बढाउँछौ’प्रधानमन्त्री ओली


 


सिराहा  प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धवृद्धाका हकहितका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकिएको बताए । “वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेरै दिन छैन” प्रधानमन्त्री ओलीले भने, “आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ। सरकारले बढाउँछ ढुक्क हुनुहोस्।”

प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको समेत दावि गरे । मधेसका बारेमा विभिन्न हल्ला चलाइए पनि सरकारले काम गरेर देखाएको समेत बताए । “मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबै कुराको जवाफ दिन्छ,” प्रधानमन्त्री ओलीले भने, “हुलाकी सडकको निर्माण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेश समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन्। केही दिन अघि झापा विमानस्थलमा रात्रिकालिन उडान सेवा सुरु भएको छ। जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदैछ।”

मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए। तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफु क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं साँसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्