सुनसरीमा पप्पु कन्ट्रक्सनको अर्को बदमासी


 


काठमाडौं माघ २०
सुनसरीमा एक सडक निर्माणका क्रममा चरम लापरबाही भएको छ । चर्चित पप्पु कन्ट्रक्सनले पाएको ठेक्कामा चरम लापरबाही भएको भन्दै स्थानीय प्रशासन र सर्वसाधारणले आक्रोश पोखेका छन् ।

लौकही–झुम्का सडक खण्डमा कम गुणस्तरको सामग्री प्रयोग गरेको तथा माटो राख्नुपर्नेमा बालुवा लगाएर पहिलो चरणको फिलिङ गरेको छ । जसका कारण बाटो भत्किन थालेको छ । पप्पुले २२ किलोमिटर लामो सो सडक बनाउन ८२ करोड ३२ लाख ५२ हजार ९ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।

तर, उसले पनि सो ठेक्का पेटी ठेकेदार कम्पनी भूमि कन्ट्रक्सनलाई जिम्मा दिएको छ । सबैभन्दा अचम्मको कुरा त त्यहाको सडक किनारामा लगाइएको बोर्डमा भने २०७५ चैत २० गते सम्झौता गरिएको भनेर उल्लेख छ । यो वर्षको चैत महिना आउन अझै दुई महिना छ ।

एसियाली विकास बैंक एडीबीको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा निर्माणाधीन छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग मातहतको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सुनसरीको सिंगिया–रामधुनी–प्रकाशपुर–मधुवन–लौकही बोर्डर सम्म कालोपत्रेसहित सडक विस्तार गर्न पप्पु कन्ट्रक्सनलाई ठेक्का दिएको छ ।

पाँच वर्षभित्र निर्माण कार्य सकिने बताइएको उक्त सडक निर्माणको सम्झौता कहिले गरेको हो कतै खुलेको छैन । सबैभन्दा अचम्मको कुरा त त्यहाको सडक किनारामा लगाइएको बोर्डमा भने २०७५ चैत २० गते सम्झौता गरिएको भनेर उल्लेख छ

भूमि कन्ट्रक्सनले सिधै सरकारबाट ठेक्का नपाएकाले पप्पुले बदमासी गरेको आरोप सरोकारवालाहरुले लगाएका छन् । पाँच वर्षभित्र निर्माण कार्य सकिने बताइएको उक्त सडक निर्माणको सम्झौता कहिले गरेको हो कतै खुलेको छैन । बराह नगरपालिकाले सो ठेक्का पप्पुले लिएका कारण त्यसको सम्पूर्ण जवाफदेहिता उहि हुने बताएको छ ।

नगरपालिकाका प्रमुख निलम खनालले सडक निर्माणमा पप्पुले पुरै बदमासी गरेको आरोप लगाए । ‘बलुवा सस्तो पाएपछि माटो ल्याएर फिलिङ गर्नुपर्नेमा बलुवा नै हालेको छ,’ उनले सडक देखाउदै भने,‘बालुवा सस्तो भएपछि बालुवा हालेको सडक अहिले भत्किन थालेका छन् । मैले यो सडकमा भरेको बालुवा सबै निकालेर माटोले फिलिङ गर्नुपर्ने नत्र काम रोकिदिने चेतावनी दिएको छु ।’ बराहक्षेत्र नगरपालिका क्षेत्रमा बन्ने सडकको लागत इस्टिमेट र डिजाइन उपलव्ध गराउन पटक–पटक ताकेता गर्दा पनि नटेरी आफूखुशी कमसल सामग्री प्रयोग गर्ने गरेको उनले बताए ।

नगरपालिका र स्थानीयको दवावपछि कन्ट्रक्सनले प्रकाशपुर क्षेत्रको सडकबाट करिब ९ लाख रुपैयाँ बराबरको बालुवा भने निकालेर फालेको छ । अन्य ठाउमा जस्तो त्यस्तै रहेको छ । ‘कालोपत्रे सडक निर्माण सम्बन्धी जानकार प्राविधिकहरुलाई यहाँ बनिरहेको सडक देखायौं । र कन्ट्रक्सनका ठेकेदारलाई पनि कमसल सामग्री प्रयोग भएको र बालुवाले भरेर सडक बनाएकाले सम्पूर्ण प्रावधिक जानकारी दिन आग्रह गर्दा सरकारलाई बाहेक अरुलाई दिन आवश्यक नभएको भनेर पन्छिए’, प्रमुख खनालले भने । बराहक्षेत्र नगरपालिका–९ का वडा अध्यक्ष दिपक कुमार लिम्बु र १० का वडा अध्यक्ष महेन्द्रबहादुर खत्रीले पनि उक्त सडक कमजोर बनिरहेको बताउँछन् ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्