कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा


 


काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो ।कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको कालाखोला बगरमा आज उद्घाटन गर्दै मन्त्री ज्ञवालीले त्रिदेशीय सिधा सम्पर्क निर्माण गरी चीन र भारतमा आयात–निर्यातका साथै पर्यटकको आगमनका लागि करिडोरले ठूलो भूमिका रहने बताउनुभयो ।

मन्त्री ज्ञवालीले कोरला नाका अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्ने र यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले करिडोरलाई धार्मिक मार्गका रुपमा समेत विकास गर्न सकिनेछ भन्नुभयो । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले यसका लागि आवश्यक साधन तथा स्रोतकोे अभाव हुन नदिने बताउनुभयो । कालीगण्डकी करिडोरलाई पर्यटन र धार्मिक हिसाबले मात्र नभई आर्थिक मार्गका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले रु २० करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाट १० मिटर चौडा कायम गर्न बागलुङ र र गुल्मी खण्डका लागि रु १०÷१० करोड विनियोजन भएको सो अवसरमा जानकारी दिइयो ।विसं २०७६ असारसम्म काम सक्ने गरी कालोपत्रेका लागि सडक विभागलाई हस्तान्तरण गर्ने गरी नेपाली सेनाको निर्माण कार्यदललाई प्रदान गरिएको छ । तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० किलोमिटरलाई १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ ।

सडकका लागि यस वर्ष सरकारले बजेट नदिएपछि वर्षायामको पहिरो समेत सेनाले आन्तरिक स्रोतबाट यातायात सञ्चालन गर्न सक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको यस करिडोरको काम २०७० सालमा नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो ।

बागलुङ खण्डमा पर्ने ३८ किमिसहित गुल्मीमा समेत गरी ८० किमि सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रु ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ ।बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङखण्ड कालोपत्रेका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने ४३५ किमीको दूरीको यो सडक त्रिदेशीय व्यापार तथा पारवाहनमा महत्वपूर्ण नाका बन्नेछ । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्नेछ ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्