आज दुई राप्रपाबीच एकता, ‘राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र’ मूल मुद्दा


 


काठमाडौं माघ १८
आज शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकताको घोषणा हुँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएसँगै एकताको टुंगो लागेको हो । राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङका अनुसार राजधानीको राष्ट्रिय सभागृहमा आज एकताको घोषणा हुने कार्यक्रम छ । पार्टी एकता घोषणाका लागि शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको हो ।

राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मूल मुद्दामा सहमत भएपछि दुई दल एक हुन लागेका हुन् । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र चुनाव चिह्न ‘हलो’ राख्ने सहमति छ । एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ ।

संविधान निर्माणताका गणतन्त्रको पक्षमा उभिनु भएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणा लोहनीसँगको एकताका लागि राजतन्त्रकै पक्षमा फर्किएका हुन् । लोहनी २०७३ फागुनमा कमल थापा नेतृत्वको राप्रपाबाट बाहिरिएका थिए । राणाले भने २०७४ को साउनमा थापा नेतृत्वकै राप्रपा विभाजन गरी राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्