नागरिकको समर्थन नभएपछि डा गोविन्द केसी एक्लिँदै


 


काठमाडौं, माघ १८

विगतको अनसनहरुमा देशभरका नागरिकको समर्थन पाउँदै आएका डा गोविन्द केसी १६ औं अनसनमा आइपुग्दा एक्लिँदै गएका छन् । डा केसीको पछिल्लो अनसन स्वयम् डा केसीका लागि ‘नखाऊ भने दिनभरको शिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ झै बनेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक–२०७५ केहि सहयोगी र कांग्रेस सांसदको विरोधका बावजुद दुबै संसदबाट पारित गरिसकेको छ ।

सरकारले पारित विधेयकले डा केसीका माग सम्वोधन गरिसकेको स्पष्ट बताउँदै अब अनसनको औचित्य सकिएको बताइसकेको छ । यता २४ दिनदेखि अनसनमा रहेका डा। केसीलाई भने आफ्नो अनसन प्रतिष्ठाको विषय भएका कारण पनि न आफूले भनेको माग पूरा नभई छोड्न मिल्ने, न त अड्डी कसेर बसिरहनेको अवस्था सिर्जना भएको छ ।

पछिल्लो समय डा गोविन्द केसीको अनसन स्वास्थ्य क्षेत्रको सुधारका लागि नभई राजनीतिक अभिष्ठका कारण रहेको आरोप लगाउँदै उनीविरुद्ध आवाजहरु संगठित बन्न थालेका छन् । स्वयम् डा केसी कार्यरत टिचिङ्ग अस्पतालका एकाध चिकित्सक बाहेक डा केसीको विरुद्धमा उभिएका छन् ।

बिहिवार मात्रै डा केसीको अनसनका कारण टिचिङ अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको, विरामीको ज्यान जोखिममा परेको, विरामीको जीवनमाथि खेलबाँड गरिएको र अनसनको औचित्य नै नभएको भन्दै स्वयम् टिचिङका चिकित्सक, विरामी र विरामीका आफन्तले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

सरकारबाट डा केसीको माग सम्वोधन हुने आश हराउँदै गएपछि र समर्थकको साथ समेत गुम्दै गएपछि अहिले डा केसी समर्थन अन्तिम प्रयास स्वरुप जनतामा जाने कार्यक्रम लिएर अगाडि बढेको छ । सरकारको आश छुटेपछि डा गोविन्द केसी समर्थकहरुले नागरिक गुहारेका छन् । सोलिडारिटी फर डा केसी अलायन्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै माघ १९ गते शनिवार दिनको १२ बजे माइतीघर मण्डलालगायत देशभरका शहरका विभिन्न चोकहरुमा हुने प्रदर्शनहरुमा सहभागी हुन अपिल गरेको छ ।

अलायन्सले नागरिकहरुलाई यस विशेष घडीमा डा केसीको जीवन रक्षा तथा उनले बोकेका जनमुखी एजेण्डाको जीतका लागि थप सक्रिय र रचनात्मक भूमिकासहित योगदान पु¥याउन आवहान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण पेशागत संगठनहरु तथा नागरिक अभियन्ताहरुलाई आ–आफ्नो ठाउँबाट यस सुधार र सुशासन अभियानमा अझ बलियो सहभागितासहित लाग्न हार्दिक अनुरोध गर्दछौं ।’

 

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्