समाचारप्रति पथरीशनिश्चरे उपप्रमुखको आपत्ती


 


पथरीशनिश्चरे, माघ  १७

कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई उचालेर केही सञ्चारमाध्यममा आफुप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण भएको भन्दै मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ती जनाउनु भएको छ ।

४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सो वडाको कोशेली चोकको योजना सदस्यहरुसँग सल्लाह नगरी सारेर काम थालेको विषयमा न्यायिक समितिमा उजुरी परेपछि छलफल भएको थियो ।

सोही वडाका सदस्य अम्वरबहादुर बराइली, तुलसादेव दर्जी दिलु मगरले न्यायिक समितिमा उजुरी गरेपछि सो विषयमा माघ १५ गते भएको छलफलमा सदस्यहरुसँगको सल्लाहविना योजना अन्यत्र सारिएको पुष्टि भएको थियो । “कोशेली चोक पश्चिम पैनीबाट होक्सेलीको घरपूर्व ड्रेन निर्माण तथा साघुँरो पैनी कल्भर्टमा ह्युमपाइप” शिर्षकको योजनालाई उल्टै वडाध्यक्षले उपभोक्ताहरुलाई उचालेर विवादित बनाउन प्रयास भएको जनाइएको छ ।

सो विषयलाई लिएर सोही दिनको कार्यपालिका वैठकमा समेत वडाध्यक्ष भण्डारीले अभद्र व्यवहार प्रस्तुत गर्दै आफु विरुद्ध लगातार लाञ्छना लगाएको र सोही प्रकारको अनर्गल समाचार सम्प्रेषण भएपछि आपत्ती जनाउनु परेको उपप्रमुख वास्तोलाले बताउनु भयो । उहाँले कार्यपालिका बैठक र त्यसपछिको छलफलमा अन्यत्र सारिएको योजना भएपनि सम्पन्न भएको कामको रकम निकासा नरोकिने भन्दै तत्काल निकासाको प्रक्रिया अघि बढाइएको प्रष्ट्याउनु भयो ।

उजुरी परेकाले त्यसबारे बुझ्न ३ दिनको समय पर्खिनु परेको अवस्थालाई जनताको काममा बाधा पुर्याएको भन्दै आफु विरुद्ध मिडियावाजी भएकोमा आपत्ती जनाएको उहाँको भनाई छ । साथै उहाँले क्याम्पस प्रशासनको सिफारिसमा दिइने भनी कार्यपालिका वैठकमै निर्णय भएअनुसार पथरी क्याम्पसका ११ छात्रालाई वितरण गरिएको साइकलको विषयलाई समेत उपप्रमुखको मनोमानीका रुपमा जोडिएकोप्रति पनि आपत्ती प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्