यूएई विरुद्धको पहिलो टी–२० मा नेपाल पराजित


 


काठमाडौँ, माघ १७

घरेलु टोली यूएई विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको हो ।

यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाई १३२ रन बनायो । नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४६ बलमा एक छक्का र तीन चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन जोडे ।

बलिङतर्फ यूएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमद र जाहोर खानले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । साइमन अनवरले ५९ रन, मोहमद उस्मानले ३०, सीपी रिजवानले २२ तथा मोहमद बोताले अविजित २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले दुई/दुई तथा सोमपाल कामी र अविनाश बोहोराले एक/एक विकेट लिए । जितसँगै यूएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीविरुद्धको दोस्रो टी–२० खेल शुक्रबार खेल्नेछ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्