‘राज्यले हामीलाई कहिल्यै सम्झिएन्’


 


काठमाडौं जनआन्दोलनका घाइते तथा शहीद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । काठमाडौंमा आयाजित कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो गरे ।

उनले भने, ‘मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावकले ज्यानको आहुति दिए तर, राज्यले हामीलाई कहिल्यै सम्झिएन् ।’ शहीद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा शहादत प्राप्त गर्ने र घाइते जिउँदा शहीदले राज्यबाट कुनै सम्मान नपाएको गुनासो पोखे । उनले भने, ‘नेता तथा कार्यकर्ताले अन्तराष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारले केही पनि पाएनन् ।’

शहीद वासुदेव घिमिरेकी धर्मपत्नी सुनिता घिमिरेले सरकारले आफूहरुको पीडा नसुनेको गुनासो पोखिन् । उनले भनिन्, ‘शहीदकै कारण आज यत्रो परिवर्तन आयो तर, सरकारले हामीलाई कुनै वास्ता गरेको छैन ।’ शहीद चन्द्रबहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमानले जीवन नै आहुति दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो गरिन् । उनले भनिन्, ‘राज्यले हाम्रा बालबालिकाहरुलाई टुहुरो बनायो, राज्यले शहीद सप्ताह मनाउँदै गर्दा हामीलाई सम्झिएन, धेरै दुःख लागेको छ ।’

शहीद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा २०६२÷६३ को जनआन्दोलनका घाइते मेघराज आचार्यले आफू मृत्युले छोडेको व्यक्ति भएको सुनाउँदै नेपालीले खाएको प्रत्येक गाँसमा र फेर्ने प्रत्येक श्वाशमा शहीदको मूल्य रहेको बताए । अर्का घाइते सुनिल भट्टराईले राज्यले पछिलो समय हचुवाको भरमा शहीद घोषणा गर्दा वास्तविक शहीदको अपमान भएको बताए ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्