नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक खनालकाे चेतावनी


 


काठमाडौं माघ १७  शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि खनालको चेतावनी आएको हो ।

‘बढुवाका लागि संगठनमै विश्वास गर्न जरुरी छ,’ गत साता बढुवा भएका प्राविधिक प्रहरीलाई प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदानपछि खनालले भने, ‘नेताकहाँ गएर बढुवा होइन्छ भन्ने भ्रममा नपरे हुन्छ, नेताहरूकोमा धाउनेहरू बढुवामा छुट्ने सम्भावना धेरै छ ।’ प्रहरी अधिकारीहरू सरुवा–बढुवाका लागि नेताहरूकहाँ धाएकै कारण संगठन बलियो हुन नसकेको बताउँदै खनालले यस्तो प्रवृत्ति छाडेर संगठन प्रमुखमै विश्वास गर्नुपर्ने बताएका थिए । अनावश्यक चलखेलमा नलागी संगठनलाई बलियो बनाउनु नै संगठनप्रति योगदान हुने उनको भनाइ थियो । ‘अहिलेसम्मको निर्देशनमा आइजिपीसाब सबैभन्दा कडा रूपमा प्रस्तुत हुनुभएको थियो,’ मुख्यालयका एक अधिकारीले भने ।

हाल नेपाल प्रहरीमा डिआइजीको एक र एसएसपीका १५ पद रिक्त छन् । विवादकै कारण रिक्त पदमा बढुवा सिफारिस हुन सकेको छैन । बढुवाका आकांक्षीहरू शक्तिकेन्द्रमार्फत चलखेलमा लागेका छन् ।

बढुवाका प्रस्ट मापदण्ड नहुँदा पनि सधैँ चलखेल हुने गरेको छ । बढुवा सिफारिस समितिले एक सय पूर्णांकमा ७.५ नम्बर दिने अधिकार छ । जसकारण वास्तविक मूल्यांकनभन्दा पनि पहिला बढुवाको सूची बनाएर त्यहीअनुसार नम्बर मिलाउने विकृति बढ्दै गएको छ ।

यसअघिको बढुवामा पनि ठूला नेतानिकट प्रहरी अधिकारीहरू अग्रस्थानमा बढुवामा परेका थिए । त्यसकारण अहिले बढुवा प्रक्रिया सुरु भएपछि राजनीतिक लबिङ बढेको छ ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्