आत्मरक्षाका लागि छोरीहरू अभ्यासमा


 


राजविराज । ‘महिला हिंसाविरुद्घ हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ नारासहित जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा सञ्चालन भइरहेको लंैगिक हिंसाविरुद्घ छात्राहरूलाई आत्मरक्षासम्बन्धी १० महिने प्रशिक्षण कार्यक्रमका सहभागी ४ सय छात्राले अभ्यास पोसाक प्राप्त गरेका छन् ।

बुधबार हनुमाननगर कंकालिनी नगरपालिका र डीएसके फाउन्डेसनको सहयोग तथा जनविकास स्रोतकेन्द्र जनकपुरको आयोजनामा यहाँस्थित रोयल सेकेन्ड्री स्कुलको खेलमैदानमा एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रशिक्षणमा सहभागी नगरपालिका क्षेत्रका १० विद्यालयका ४ सय बालिकाहरूलाई खेलकुद पोसाक वितरण गरेका हुन् ।

उनीहरूलाई कराते संघ प्रदेश २ का अध्यक्ष वैद्यनाथ यादवको नेतृत्वको ४ सदस्यीय प्रशिक्षकको टोलीले गत साउनदेखि आत्मरक्षाका लागि कराते प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण आगामी जेठ महिनासम्म चलनेछ ।

मन्त्री साहले छोरा स्व. डा. सञ्जयकुमार साहको स्मृति एवं सम्मानमा डीएसके फाउन्डेसनको स्थापना गरेका हुन् । सोही फाउन्डेसनले प्रशिक्षणमा सहभागी छोरीहरूका लागि डे«सको व्यवस्था मिलाइदिएको हो भने हनुमाननगर कंकालिनी नगरपालिकाले प्रशिक्षण, प्रशिक्षक तथा अन्य खर्चको व्यवस्थापन गरेको हो ।

कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका मन्त्री साहले छोरीलाई शिक्षा र खेलकुदमा सहभागिता बढाउने तथा आत्मरक्षाका लागिसमेत सक्षम बनाउने उद्देश्यले १० महिने प्रशिक्षण कार्यक्रम थालिएको भन्दै यसमा सबै अभिभावकको साथ र सहयोग आवश्यक रहेको बताए । यस्ता कार्यक्रम प्रदेशका सबै आठवटै जिल्लामा सञ्चालन हुने उनको भनाइ छ । उनले खेलकुद क्षेत्रको विकास भए मात्र विकास निर्माणले गति पाउने भन्दै खेलकुदको विकासका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

उनले पाँच वर्षको अवधिमा देखिने गरी खेलकुदमा सघाउने योजना बनाएको बताए । हनुमाननगर कंकालिनी नरपालिकाका मेयर शैलेश साहले खेलकुदका लागि आवश्यक भौतिक संचरना निर्माण, तालिम र प्रतियोगिताहरू सञ्चालन गर्न नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्घता जनाए ।

विजय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर सरितादेवी यादव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष जीतेन्द्र खड्गा, रोयल सेकेन्ड्री स्कुलका संस्थापक देवनाथ यादवलगायतले शुभकामना दिएका थिए । यता पोसाक पाएपछि बालिकाहरू निकै खुसी भएका थिए । प्रशिक्षणमा सहभागी सुनिता यादवले भनिन्, ‘अरूले करातेको पोसाक लगाएको देख्दा रहर लाग्थ्यो, अब म पनि त्यस्तै पोसाक लगाउने भएँ ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्