समृद्ध नेपालका लागि नेपाल टेलिभिजनको भूमिका अपरिहार्य’ : प्रम ओली


 


काठमाडौँ, माघ १७

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय लक्ष्य भेट्टाउन ‘विकासका लागि सञ्चार’ भन्ने नेटिभीको स्थापनाकालीन सन्देश आज झन् सान्दर्भिक ठहरिन पुगेको बताउनुभएको छ ।

मुलुकको राजनीतिक सङ्क्रमण अन्त्य गरी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकार केन्द्रित भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, “विविधतामा एकताको हाम्रो भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसंस्कृत नेपाली समाजको निर्माण गर्नमा यसको महत्व झन् बढेको छ ।” नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेटिभीको उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले यसका दर्शकले अझ बढी जीवनोपयोगी जानकारी, समाजको समग्र विकासका लागि उत्प्रेरक विषयवस्तुका साथै सूचना र स्वस्थ मनोरञ्जन प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

झण्डै साढे तीन दशकअघि स्थापित नेटिभीले आजैदेखि आफ्नो प्रसारणमा एचडी प्रविधिलाई अङ्गीकार गरेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले टेलिभिजन प्रसारण जगत्मा अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै नयाँ उचाइ हासिल गरेको बताउनुभएको छ ।

देशको सांस्कृतिक, भौगोलिक र भाषिक विविधतालाई झल्काउँदै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको नेटिभीको प्रसार जति प्रभावकारी हुन सक्यो, मुलुकको राष्ट्रिय एकता त्यति नै मजबुत हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । एउटा च्यानलबाट शुरु भएको नेपाल टेलिभिजनले अहिले विभिन्न चार वटा च्यानलबाट सूचनायुक्त, मनोरञ्जक र शिक्षामूलक श्रव्य दृश्य सामग्री उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्