मेची पुल उद्घाटन हुँदै, यस्तो छ प्रधानमन्त्री ओलीको कार्यतालिका


 


झापा, माघ १६
लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुल प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्ने भएका छन् । पटक–पटक शिलान्यास भएर पनि कहिल्यै पुल नबनेको मेचीमा अन्ततः पुल सम्पन्न भएर सञ्चालनमा आउन लागेको हो ।

झापा भद्रपुरबाट मेची खोला तरे लगत्तै भारत विहारको गलगलिया र बंगालको सिलिगुडीलगायत छिमेकी भारतीय बजार पुग्न स्थानीयलाई सहज हुने यो पुलको निर्माणले स्थानीयबासीमा उत्साह छाएको छ भने नेपाल, भारत र बंगलादेशबीचको त्रिदेशीय कारोबारमा सहज हुने आशा पनि पलाएको छ ।

भद्रपुरको मेची पुल शिलान्यास हुने तर नबन्ने पुलका रुपमा चर्चित थियो । अब भने यो नियतिको अन्त्य हुने भएको छ । पहिलो पटक २०२२ सालमा तत्कालीन अञ्चलाधिस मनमोहन मिश्रले, दोश्रोपटक २०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले र तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते तेश्रो पटक मेची पुलको शिलान्यास गरेका थिए । ६ सय ६० मिटर लम्बाई र १० मिटर चौडाइ र ७० टन भारवहन क्षमता भएको पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा झापामा उल्लासको माहोल हुने सर्वसाधारण बताउँछन् ।

प्रधानमन्त्रीको व्यस्त तालिका

नेकपाका अध्यक्ष समेत रहेका ओली दोस्रोपटक प्र्रधानमन्त्री बनेपछि यो चौथोपटक गृह जिल्ला झापा आउन लागेका हुन् । उनले झापाका विभिन्न महत्त्वपूर्ण कार्यव्रmमको उद्घाटनसँगै निर्देशन समेत दिने कार्यव्रmम रहेको छ ।

प्रधानमन्त्री ओली बिहीबार बिहान यति एयरलाइन्सको फन्टफ्लाइटबाट ११ बजे चन्द्रगढी एयरपोर्टबाट सिधैँ दमकको बाल महोत्सवको उद्घाटन गर्ने कार्यव्रmम रहेको प्रधानमन्त्री कार्यालयका जनसम्पर्क तथा विकास योजनाका हेमबहादुर थापाले बताए । थापाका अनुसार प्रधानमन्त्री ओलीले कमल गाउँपालिकास्थित सहिद धर्मभक्त माविको स्वर्ण महोत्सव उद्घाटन तथा पुस्तक विमोचन दिउँसो १२ देखि १ बजे गर्नेछन् ।

दिउँसो तीन बजे ऐतिहासिक मेची पुलको उद्घाटन पश्चात ५ बजे प्रधानमन्त्री ओलीले चन्द्रगढी एयरपोर्टको रात्रीकालीन उडानको उद्घाटनसँगै यति एयरलाइन्सबाट काठमाडौँ फर्कने कार्यव्रmम रहेको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए ।

ओलीले यसअघि गृह जिल्ला झापामा एडीबीको सहयोगमा निर्माण हुने ग्रामीण सडक (आरसीआइजी) चारपाने, केर्खा, अमलडाँगी, पाडाजुंगी सडकको उद्घाटन गरिसकेका छन् । त्यसैगरी झापाको गौरादहमा रहेको क्षेत्रीय आयुर्वेदिक अस्पतालको समेत उद्घाटन गरेका ओलीले गृह जिल्ला झापालाई समृद्ध जिल्लाको रुपमा स्थापित गर्न ठूला योजना समेत अघि सारेको र यहीबाट देशको समृद्धिको ढोका खुल्ने उद्देश्य रहेको पूर्व नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्