रङ्गशाला निर्माण गर्ने खुशियालीमा चितवनमा दीप प्रज्वलन


 


भरतपुर । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ । आज साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुनु खुशीको कुरा भन्दै उनीहरुले रङ्गशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

क्रिकेट समर्थक समाजका सदस्य सञ्जय धरेलले भरतपुरमा रङ्गशाला निर्माणपछि चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन र खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थी नेता अशोक देवकोटाले भरतपुर महानगरको पहलमा निर्माण हुन लागेको रङ्गशाला समयमै निर्माण सम्पन्न गर्न युवा विद्यार्थीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा दिपावलीसँगै केक काटेर खुशियाली साटासाट गरिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच आज रङ्गशाला निर्माणका लागि जग्गाप्राप्तिसम्बन्धी काठमाडौँमा सम्झौता भएको हो ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्