रंगशाला बनाउने अठोट लिएका धुर्मुुस भन्छन्– पापको खोल ओढेर धर्ती छाड्दिनँ


 


काठमाडौं । वीर अस्पताल सफाइपछि सीताराम कट्टेल धुर्मुस सञ्चारमाध्यममा खासै आएका थिएनन् । न उनी हास्य सिरियल मेरी बास्सैमा नै फर्किएका थिए । उनी के गर्दैछन् भन्ने प्रश्न सबैको मथिङ्गलमा उब्जिएको थियो ।

२०७२ को विध्वंशकारी भूकम्पपछि विकास–निर्माणको अभियन्ता बनेर जन्मिएका धुर्मुसले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, महोत्तरी, रौतहटमा गरी चार एकीकृत बस्ती उभ्याए । भूकम्पमा ढलेको, दुःखले गलेको दुवै मनलाई एकैसाथ उभ्याउने चेष्टा गरे ।

वीर अस्पताल रंगरोगमा विवादमा ल्याउने प्रयत्न गरेपछि उनको मनोबल गिरेको आशंका गरिएको थियो । तर, तिनै अभियन्ता धुर्मुस बुधबार झनै महत्वाकांक्षी परियोजना लिएर आएका छन् । सीताराम कट्टेल अध्यक्ष र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तली उपाध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर–१६ को त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकायको अधीनमा रहेको २० विगाहा ६ कट्ठा जग्मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान (रंगशाला) बनाउने परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

उत्साही धुर्मुस
वीर अस्पताल निर्माणमा सोचेजस्तो सफलता हात नलागेपछि केही निराश देखिएका थिए धुर्मुुस । अनावश्यक विवादमा तान्न खोजिएकैले होला उनले सँगैको ट्रमा सेन्टर रंग्याउने चेष्टा पनि गरेनन् ।

केहीले अब उनी यस्ता सामाजिक कामबाट पछाडि हट्ने र कलाकारितामै फर्कने अनुमान समेत गरे । नमुना नेपालसँगै उनको सामाजिक अभियान अलपत्र परेको लखसमेत काटियो ।

तर, यी सबै अनुमानलाई गलत सावित गर्दै धुर्मुस् ३ अर्बको क्रिकेट रंगशाला बनाउने महत्वाकांक्षी योजना बोकेर राष्ट्रियसभा गृहमा प्रस्तुत भए ।
उनको आँट देखेर प्रधानमन्त्री केपी शर्मा ओलीसमेत छक्क परे । सधैँ हस्यौली पारामा प्रस्तुत हुने नेकपाका अध्यक्ष समेत रहेका ओलीले व्यंग्य गर्न छुटाएनन्, “३ अर्बको क्रिकेट रंगशाला बनाउन हिँड्ने मान्छेको खल्तीमा कति पैसा छ ?”

धुर्मुस हाँस्दै थिए, प्रधानमन्त्रीले नै जवाफ दिए, “विचरा चिया खाने पैसासमेत छैन होला !” प्रधानमन्त्री ओलीको आशय थियो । विकास पैसा गर्ने होइन, विचारले हो, इच्छाशक्तिले हो । उनैले दृष्टान्त देखाए, “यता धुर्मुसले तीन अर्बको रंगशाला बनाउने उद्घोष गरे । दर्शकदिर्घामा रहेका एकजना युवाले कागजमा तीन करोड दिन्छु भनेर लेखेर दिए । यसरी पूरा हुन्छ विकास ।”

केहीक्षण अघि धुर्मुसको रंगशाला बनाउने सपनाबाट उत्साहित भएको एस ट्राभल्सका अर्जुन धरेलले तीन करोड दिने वचनवद्धता गरेका थिए । त्यसबाहेक कार्यक्रममै झन्डै साढे चार करोडको प्रतिवद्धता आयो ।

प्रधानमन्त्री ओलीले त्यसै भनेका होइनन् । धुर्मुसको उत्साह देखेरै भनेका हुन् । धुर्मुसले पनि देशविदेशमा रहेका नेपाली र नेपालभाषीको सहयोगमा सपना सार्थक हुने उद्घोष गरे ।
रौतहट, चन्द्रपनिगाहपुरका ४७ घर मुसहरहरूलाई एकीकृत बस्ती बनाएपछि धुर्मुस सुन्तली फाउन्डेसनले झन्डै १६ अर्ब रुपैयाँ लागतको ‘नमुना नेपाल’ परियोजना पनि सार्वजनिक गरेको थियो । झन्डै एकमहिना जग्गा खोज्न धामा पनि गर्यो ।

यहीबीचमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एक दिवसीय (ओडीआई) को मान्यता पायो । त्यसपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नुपर्ने र निर्माणको अगुवाइ धुर्मुस सुन्तली फाउन्डेसनले नै गर्नुपर्ने दबाब बढेपछि धुर्मुस दम्पत्ति रंगशालातिर आकर्षित भएको हो ।

६ महिनामा डीपीआर, २ वर्षमा निर्माण
बुधबार रंगशाला निर्माण गर्ने सम्झौतापत्रमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच हस्ताक्षर भयो । सम्झौतानुसार ६ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन र शिलान्यास भएको मितिले २ महिनाभित्र रंगशाला निर्माण गसिक्ने लक्ष्य फाउन्डेशनको छ । कमलको फूल आकारको रंगशाला नेपालको मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमै पहिलो मौलिक स्टेडियम हुने धुर्मुसको दाबी छ ।

“हामीले थुप्रै देशमो रंगशाला पनि हेर्यौँ तर ती रंगशाला त्यो देशको मौलिकतासँग मेल खाँदैनन्,” उनले भने । त्यसबाहेक रंगशालाभित्र बहुउद्देश्यीय स्पोर्टस एकेडेमी र अन्य प्रशिक्षण मैदान समेत रहनेछन् ।

फाउन्डेशनकी उपाध्यक्ष तथा उनकी पत्नी कुञ्जना घिमिरेले क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउन्डेशनले बनाए पनि यो देशकै राष्ट्रिय गौरबको आयोजना भएको बताइन् ।
आगामी साढे दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य प्रस्तुत गरिएको रंगशालाको निर्माण लागत तीन अर्ब अनुमान गरिएको छ । यद्यपि यो प्रारम्भीक अनुमानमात्र भएको र डीपीआर बनेपछि लागत तलमाथि हुनसक्ने उनको भनाइ थियो ।

‘रकम दुरुपयोग हुन दिन्नँ’
वीर अस्पताल सफाइमा ठेस लागेपछि धुर्मुस अझै सचेत बनेका छन् । उनले रंगशाला देशभित्र र बाहिर रहेका नेपाली, नेपालीभाषीको रगत–पसिनाबाट बन्न लागेको बताउँदै एकपैसा पनि दुरुपयोग हुन नदिने प्रण दोहो¥याएका छन् । कार्यक्रममा फाउन्डेशनले आम्दानी खर्चको फाँटवारी दुरुस्त राख्न चार्टड एकाउन्टेन्सीमा विज्ञता हासिल गरेका मानिस नै नियुक्त गरेको बताउँदै ‘पापको खोल बोकेर धर्ती नछाड्ने’ प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि धुर्मुसलाई बारबार सचेत गराए । “पहरी एकीकृत बस्ती हुँदै सन्तपुर पुग्यौ । अहिले रंगशाला बनाउन लागेका छौ । निश्चय पनि हाइट बढ्दै गएको छ । एक रुपैयाँ पनि तलमाथि भयो भने माथि हाइटबाट खस्दा टाउको जोगाउन गाह्रो पर्ला,” उनको खबरदारी थियो ।

जवाफमा धुर्मुसले एकएक आम्दानी खर्चको हिसाब पारदर्शी तरिकाले प्रस्तुत गर्ने बताए । अघिल्ला योजना निर्धारित समयमै सम्पन्न गरेको धुर्मुस जोडीले क्रिकेट रंगशाला पनि शिलान्यास गरेकै दिन निर्माण सम्पन्न गरिने मिति तोकिने बताए । कहिल्यै समयमा नसकिने राष्ट्रिय गौरबको आयोजनाको नियति क्रिकेट रंगशालाले नभोग्ने उनको प्रतिवद्धता थियो ।

नेपाली क्रिकेट टोलीको शुभकामना
बुधबार सभागृहमा विशेष जमघट थियो । नेपाली राजनीतिले प्राप्त गर्न नसकेको मञ्च धुर्मुस सुन्तली फाउन्डेशनले बनाएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि मुक्तकण्ठले प्रशंसा गरे । “यो हलमा यसअघि पनि थुप्रै कार्यक्रम भए । तर, यसकिसिमको जमघट कहिल्यै देखिएन । खेलले सबैलाई जोड्दो रहेछ,” उनको भनाइ थियो ।

धुर्मुस सुन्तली क्रिकेट मैदान बनाउन कस्सिएपछि नेपाली क्रिकेट टोली पनि उत्साहित देखिएको छ । नेपाली क्रिकेट टोलीका कप्तान पारश खड्काले युएईबाटै शुभकामना सन्देश पठाउँदै धुर्मुस सुन्तलीलाई भने, “ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बन्ने खबरले हामीलाई पनि उत्साहित बनाएको छ । तोकिएको समयमा निर्माण पूरा होस् ।”
त्यस्तै कीर्तिमानी युवा क्रिकेटर सन्दीप लामिछानेले आफू चितवनबासी हुनुका नाताले सबैभन्दा बढी उत्साहित भएको प्रतिक्रिया पठाएका थिए ।बाह्रखरीबाट

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्