विहीबारदेखी दमकमा सुरु हुने प्रदेशस्तरीय बाल महोत्सवको सम्पूर्ण तयारी पुरा


 


दमक, माघ १६

विहीवारदेखि झापाको दमकमा पाँच दिने प्रदेशस्तरीय बृहत बाल महोत्सव सुरु हुदैछ ।  आयोजक दमक नगरपालिकाले आज महोत्सवस्थलमा नै पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले नगरपालिकाले यहि माघ १७ गतेदेखि २१ गतेसम्म पहिलोपटक महोत्सव आयोजना गर्दैछ । महोत्सव दमक –९ स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गगणमा हुदै छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

बाल महोत्सवमा बालबालिकाहरुको प्रतिभा उजागर गर्ने नृत्य,निवन्ध, चित्रकला, कविता, हाजिरीजवाफ, बक्तृत्वकला, विज्ञान प्रतियोगिता लगायतका एक दर्जन बढी विभिन्न विधाहरुमा १ हजार बढी विद्यार्थीले प्रतिष्पर्धा गर्ने छन् । गठित महोत्सवका मूल आयोजक समितिकी संयोजक समेत रहेकी दमक नगर उपप्रमुख गीता अधिकारीले बालमैत्री स्थानीय सरकारको रुपमा दमकलाई स्थापना गरि बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि पनि बृहत बाल महोत्सवको आयोजना गरिएको र त्यसको सवै तयारी पूरा भएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दमक नगर प्रमुख रोमनाथ ओलीले महोत्सवको महत्व माथि प्रकाश पार्नुभएको थियो भने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले प्रधानमन्त्रीको सवारी मजवुत बनाउन स्थानीय सुरक्षा प्रशासनले सवै सुरक्षा अवलम्बन गरेको जानकारी दिनुभयो ।

दैनिक विहान ९ वजेदेखि साँझ ५ वजेसम्म चल्ने महोत्सव भरि स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने जनाईएको छ । करिव १ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यवसायिक स्टलहरु रहने छन् ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्