प्रधानमन्त्री निवास अगाडि नेविसंघको सिटी जुलुस, २१ जना पक्राउ


 


काठमाडौं माघ १५ सरकारविरुद्ध प्रदर्शनका उत्रिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघका २१ जना नेता पक्राउ परेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि मंगलबार दिउँसो निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टसहित २१ जना नेतालाई प्रहरीले पक्राउ गरेको हो।

महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको नेविसंघको टोलीले प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेट नजिकै सिटी जुलुस निकालेर सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको थियो। प्रदर्शनका क्रममा नेविसंघका केन्द्रीय सदस्य भट्टसहित पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, निरञ्जन थापा, सुवास घिमिरे, किरण भट्टराई, सन्तोष गुरुङलगायतका २१ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ।

.प्रमुख प्रतिपक्ष दल कांग्रेसको विरोधकाबीच बहुमतले चिकित्सा शिक्षा विधेयक पास गरेको, कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल विघटनको प्रक्रियामा लगेको भन्दै नेविसंघ सरकारविरुद्ध सडकमा उत्रिएको हो।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्