नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्ष कि उद्दण्ड ?


 


संसदीय पद्धतिप्रति आस्थावान रहेको कारणले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने अपेक्षा गरिएको थियो । किनभने, संसदीय पद्धतिमा सत्तापक्ष र प्रतिपक्षको समान भूमिका रहने गर्दछ । तर, पछिल्ला दिनमा कांग्रेसका गतिविधिलाई नेपाली कांग्रेसले प्रतिपक्षको जिम्मेवारीपूर्ण भूमिका होइन, उद्दण्ड भूमिका निर्वाह गर्न थालेको देखिएको छ । सत्ताबाट कहिले पनि बाहिरिनु पर्दैन भन्ने मानसिकता बोकेको कांग्रेसलाई गतबर्ष सम्पन्न आम निर्वाचनमार्फत आम जनताले सत्ताबाट बाहिरिन दिएका आदेशको कारणले गर्दा उत्पन्न भएको पीडालाई समन गर्न यसरी उद्दण्ड भूमिका निर्वाह गर्न थालेको जस्तो देखिन्छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले २०७५ माघ ७ गते सोमबार र ८ गते मंगलबारको संसद बैठक होहल्ला गरेर सञ्चालन हुन दिएन । यसैगरी २०७५ माघ ११ गते शुक्रबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसद बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लाग्दा पनि त्यसैगरी होहल्ला र अवरोध गरेको थियो । शिक्षा क्षेत्रमा विद्यमान रहेका विकृतिलाई हटाउनेसँगै डा.गोविन्द केसीले अगाडि सारेका मागलाई सम्बोधन गर्नेगरी सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको थियो । तर, प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरू भने यही विधेयकलाई अवरोध पु¥याउनका लागि संसदमा अराजकतासाथ प्रस्तुत भएका थिए ।

सरकारले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालको जिम्मेवारी नलिएको र स्व.गिरिजा र स्व.सुशील कोइरालाको नाम इतिहासबाट मेटाउने दुष्प्रयास गरेको भन्दै प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले सदन बैठक अवरोध पु¥याउने काम गरेका थिए । खास गरेर चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुनबाट रोक्नका लागि स्व.गिरिजा र स्व.सुशीलको नाम अगाडि सारेर कांग्रेस सांसदहरूले विरोध गर्नुको खास कारण डा. गोविन्द केसीको अनसनलाई बढाएर स्थितिलाई अहसज बनाइराख्नु थियो । तर, सरकार चिकित्सा क्षेत्रमा विद्यमान रहेको विकृति हटाउनकै निम्ति चिकित्सा शिक्षा विधेयकलाई जसरी पनि पास गरेर डा.केसीको अनसनलाई समेत सहजरुपमा निकास दिने पक्षमा रहेको थियो ।

यही कारणले गर्दा नै कांग्रेसको अवरोध र विरोधको बाबजुद पनि चिकित्सा शिक्षा विधेयक संसदबाट पास भएको छ । यस सन्दर्भमा नेपाली कांग्रेस तथा सांसदहरूले के हेक्का राख्न जरुरी छ भने स्व.गिरिजा र स्व.सुशीलले नेपाली कांग्रेसमा मात्र होइन नेपालको राजनीतिमा समेत पु¥याएको योगदानलाई एउटा अस्पतालको नाममा मात्र सीमित राख्न सकिदैन । तर, प्रतिपक्ष नेपाली कांगे्रस आफ्नो सीमित र संकीर्ण स्वार्थका निम्ति स्व. गिरिजा र स्व.सुशील कोइरालाले पु¥याएको योगदानलाई एउटा अस्पतालको नामसँग जोडेर संसदमा बबण्डर मच्चाउने काम गरेको छ ।

संसदबाट चिकित्सा शिक्षा विधेयक पास भएको लगत्तै नेपाली कांग्रेसको संसदीय दलको बैठकले संसद र सडकमा आन्दोलन चर्काउने निर्णय गरेको छ । संसदीय पद्धतिमा जिम्मेवार प्रतिपक्षले आन्दोलनका सम्बन्धमा पहिले नै निर्णय गर्ने गर्दैन र प्रतिपक्षले आफ्नो भूमिका सन्दर्भ र मुद्दा अनुसारले तय गर्ने गर्दछ । तर, सत्ताबाट प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले भने यी मुद्दा र सन्दर्भलाई हेक्का समेत नराखी सदन र सडक नै तताउने निर्णय गरेर अराजक प्रतिपक्षको परिचय दिन थालेको छ । (साँघु साप्ताहिक, माघ १४)

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्