विराटचोक क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइयो, बालिकाका आफन्त शव बुझ्न राजी


 


मोरङ, माघ १४

मोरङको सुन्दरहरैंचा –९ सिसौघारीमा ११ वर्षीय बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावग्रस्त बनेको त्यहाँको अवस्था आज साँझबाट सामान्य बनेको छ ।

विहान ११ः१५ बजे जारी गरिएको निषेधाज्ञ साँझ ८ बजेबाट हटाइएको छ । घटनापछि आक्रोसित बनेका स्थानीयले सडकमै शव राखेर प्रदर्शन गरेका थिए । दुर्घटना गराउने चालकलाई कडा भन्दा कडा कारवाहीको र उक्त सडकमा टिपर चल्न प्रतिबन्ध लगाइनु पर्ने माग राख्दै आन्दोलित बनेका स्थानीयले सडकमा गुडिरहेका अन्य टिपरमा पनि आगजनी गरेपछि दिनभर त्यहाँको वातावरण असान्त बनेको थियो । दुर्घटनापछि दिनभर विराटनगर– विराटचौक सडकखण्ड स्थानीय बासिन्दाले दिनभर अवरुद्ध बनाए ।

यस अघि पनि विभिन्न समयमा ट्रिपरले ज्यादती गरेको भन्दै साँघुरो बाटोमा टिपरलाई प्रतिबन्ध लगाइनु पर्ने माग स्थानीयले राख्दै आएका थिए । तर, प्रशासनले कुनै सुनुवाई नगरेको भन्दै स्थानीय प्रहरी प्रशासन विरुद्ध रुष्ट बनेका थिए ।  विराटचौकको मुख्य सडकमासमेत प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग समेत केही बेर अवरुद्ध पारिएको थियो ।

साँझ सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा सर्वपक्षिय बैठक बसेर सहमति भएपछि स्थिती सामान्य बनेको कोसीहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईले बताए । बैठकपछि दुर्घटना भएको सडकमा टिपर चलाउन प्रतिबन्ध लगाइएको छ । नागरिक समाज, पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र प्रशासनबीच संयुक्त बैठक भएको थियो । बैठकले टिपर चलाउन रोक लगाएको हो । बैठकमा बालिकाको शवलाई सामूहिक श्रदान्जली दिने, चालकलाई हदै सम्मको कारवाही गर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएको जानकारी चापागाईले दिए ।

स्थानीय स्तरमा भएको सर्वपक्षिय छलफलपछि सहमति जुटेका कारण बालिकाका आफन्त शव बुझ्न राजी भएको उनले बताए । शवलाई पोष्टमार्टमका लागि मोरङकै उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ ।  तीव्र गतिमा रहेकोको ना ३ ख ३३५५ नम्बरको टिपरले सोमबार विहान ८ः४५ बजे बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएर घाइते बनाएको थियो ।

टिपर व्याक गरेर बालिकालाई मारेको दावी गर्दै स्थानीय बासिन्दा टिपर विरुद्ध आन्दोलित बनेका थिए । ठक्कर दिएर घाइते बनाएको थियो । छिमेकी पुष्पा केसीका अनुसार विहान सामान किन्न पसलमा जाने क्रममा बाटो काट्दै गर्दा लक्ष्मीलाई टिपरले ठक्कर दिएको थियो । सुन्दरहरैँचा १ कुमारगाउँका चूडामणि ढकालकी छोरी काका लेखनाथ ढकालसँगै सिसौघारीमा बस्दै आएको खुलेको छ ।

घटना लगत्तै स्थानीयबाट छल्लिन तत्कालै त्यहाँबाट भागेको टिपर अगाडि बेलेपुर नजिक पुगेपछि रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । त्यहीं गएर आक्रोसित स्थानीयले टिपरमा आगजन गरेको प्रहरीले जनाएको छ । विराटनगरका गोपाल साहको उक्त टिपरका चालक र कर्मचारी भने अहिलेसम्म सम्पर्कमा नरहेको जनाइएको छ ।

स्थानीयले बालिकाको शवलाई दिनभर सडकमै राखेर टायर बाल्दै प्रदर्शन गरिरहँदा स्थिती नियन्त्रण भन्दा बाहिर गएको थियो । टिपरले सडकमा दादागिरी जमाए पनि संरक्षण प्रदान गरिरहेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध दिनभर नारावाजी र प्रदर्शन गरिरहे । आक्रोसित स्थानीय बासिन्दा विराटनगर–विराटचौक सडक खण्ड अवरुद्ध पार्दै वरपर सडकमा गुडिरहेका अन्य टिपरमाथि खनिए ।

दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका टिपरमा पनि आगजनी गरेका थिए । स्थानीयले को १ ख ५५८४, को १ ख ५८३३, को १ ख ५४०७, को १ ख ६५६३ र ना ३ ख ४५८७ तथा एउटा अनटेष्ट लेखेको टिपर जलाइदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । यि सबै टिपर आगोले पूर्ण रुपमा जलेको उनले बताए । आगजनी गरिएका टिपर क्रसर व्यवासायी भीम पौडेल र केराबारी गाउँपालिकाका गोपाल कार्कीको भएको प्रहरीले जनाएको छ ।

स्थितीलाई नियन्त्रणमा लिन त्यहाँ परिचालित प्रहरीले नसकेपछि मोरङ प्रशासनले विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी गरे पनि स्थानीयले अवज्ञा गरेर शव बुझ्न अस्वीकार गर्दै दिनभर प्रदर्शन, नारावाजी र अगजनीलाई भने जारी राखे ।
स्थिती उग्र र भीड थप अराजक बन्दै गएपछि स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थितीलाई जटिल मोडमा र थप असान्त बनाउँदै लगेको थियो ।

सुन्दरहरैंचा नगरपालिकाको सिसौघारी र बेलेपुरमा प्रदर्शन गरिरहेको एउटा समूहले विराटचौक पुगेर दिउँसो बजार र पसल बन्द गराउँदै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडक खण्डमा समेत एम्बुलेन्स बाहेक कुनै पनि यातायतका साधन सञ्चालन हुन दिएन । दुई घण्टाको प्रयासपछि प्रहरीले पूर्वपश्चिम राजमार्ग भने सूचारु गरेको थियो ।

घटनाको विरोधमा आक्रोसित बनेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले आगजनी गरिएको ठाउँमा आगो निभाउन भन्दै विभिन्न ठाउँबाट पुगेका दमकललाई समेत अवोध गरे । घटनास्थलमा ठूलो संख्यामा परिचालन गरिएका सशस्त्र र नेपाल प्रहरीले भीडलाई नियन्त्रण गर्ने प्रयास भने दिनभरी गरेका थिए ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माईकिङ गरेर जानकारी गराएको थियो । स्थानीय बासिन्दाले टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाए । स्थानीय भोगेन्द्र न्यौपानेले लामो समयदेखि विराटनगर–विराटचौक सडक खण्डमा टिपरको दादागिरी चलिरहेको बताए । भने, ‘यो साँघुरो सडकमा टिपर चलाउन हुँदैन भनेर रोक्नका लागि पटक पटक माग ग¥र्यौ । तर कसैले पनि सुनुवाई नगर्दा एउटा दुःखद् घटना हुन पुग्यो ।’ स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि सुरु भएको आन्दोलन आगजनी र तोडफोडसम्म पुगेपछि उक्त स्थान त्यहाँ रणभूमि बन्यो ।

स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगामुडा गरेका थिए । स्थानीयको अवरोधका कारण घटनास्थलमा दुई घण्टा सम्म प्रहरी पुग्न सकेन । घटनास्थलमा पुगेका एक÷दुई जना प्रहरीलाई समेत स्थानीय बासिन्दाले लखेटेका थिए ।स्थितीलाई नियन्त्रणमा लिन भन्दै ठाउँ–ठाउँका प्रहरी कार्यालयबाट ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिए पनि स्थिती दिनभर नियन्त्रण बाहिरै रहेको थियो । स्थानीय बासिन्दाले प्रहरी केन्द्रीत ढुंगामुडा गरिरहँदा तत्काल प्रहरी पुग्न नसकेपछि टिपरमा आगजनीको घटना धेरै भएको र त्यहाँबाट ठूलो क्षति हुन पुगेको बताइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सोमबार साँझबाट असामान्य स्थिती सामान्य बनेर गएको जानकारी दिए । उनले स्थिती सामान्य बनेपछि जारी गरिएको निषेधाज्ञा साँझ ८ बजेबाट हटाइएको बताए । प्रदर्शन, आगजनी र तोडफोड रोकिएका कारण तत्कालका लागि निषेधाज्ञा हटाइएको केसीले बताए ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्