चिकित्सक संघ विभाजित, रिले अनसनमा वामपन्थी चिकित्सक सहभागी नहुने
काठमाण्डौँ, माघ १४
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नो हाताभित्र अनसन, धर्ना र बन्द हड्ताल जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले आज विज्ञप्तिमार्फत विरामीको उपचारमा असर पर्ने कुनै गतिबिधि नगर्न चिकित्सकहरुलाई आग्रह गरेको हो ।
डा.गोविन्द केसीको अनसन र उहाँको समर्थनमा नेपाल चिकित्सक संघले रिले अनसन थालेकै दिन अस्पताल प्रशासनले एने कानुन सम्झाउँदै यस्ता गतिविधि नगर्न भनेको हो । अस्पताल प्रशासनले चिकित्सक संघका कार्यक्रम अस्पताल हातामा नगर्न आग्रह गरेको छ । यसैबीच नेपाल चिकित्सक संघले थालेको रिले अनसन लगायतका कुनै पनि आन्दोलनका कार्यक्रममा वामपन्थी चिकित्सक सहभागी नहुने भएका छन् ।
डा. केसीले राजनीतिक माग राखेर अनसन बसेकाले यसपटकबाट केसीको अनसनमा साथ दिन नसकिएको नेकपा निकट चिकित्सक संगठनले प्रष्ट पारेको छ । नेपाल चिकित्सक संघ चिकित्सकहरुको छाता संगठन हो । तर यसपटक चिकित्सक संघमै पनि आन्दोलन गर्ने र नगर्ने सन्दर्भमा विवाद भएको छ । गत बिहीबार विवाद बढ्दा हात हालाहालको अवस्था आएको भिडियोसमेत सार्वजनिक भएको छ ।
चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले संघको रिले अनसन र अस्पताल बन्द गराउने प्रकारका कुनै पनि आन्दोलनमा सहभागी नहुने बताउनुभएको छ । उहाँले सार्वजनिक रुपमै डा.केसीको अनसन नेपाली कांग्रेसको एजेण्डामा गइसकेको भन्दै चिकित्सक संघ त्यसमा फस्न नहुने बताउनुभएको हो ।
नेकपा निकट राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले डा. केसीका माग स्वास्थ्यसँग सम्बन्धित हुँदासम्म आफूहरुले साथ दिएपनि यसपटक राजनीतिक एजेण्डा बोकेकाले समर्थन गर्न नसकिएको बताउनुभयो । उहाँले वामपन्थी चिकित्सकको रिले अनसनमा सहभागिता नहुने जानकारी दिनुभयो ।
प्रकाशित मिति: १४ माघ २०७५, सोमबार