निषेधाज्ञा टेरेनन् स्थानीयले, सडकमै शव राखेर प्रदर्शन


 


मोरङ, माघ १४

स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ । निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन् । ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिती थप तनावपूर्ण बन्दै गएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको सिसौघारी र बेलेपुरमा प्रदर्शन गरिरहेको एउटा समूहले विराटचौक पुगेर बजार र पसल बन्द गराउन थालेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडक खण्ड बन्द गरिएको छ । त्यहाँ एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न दिइएको छैन । मुख्य राजमार्गमा प्रहरीले सडक खुलाउने र सवारी आवगामन नियमित बनाउने प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन ।

घटनाको विरोधमा आक्रोसित बनेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले अहिलेसम्म ११ वटा टिपरमा आगजनी गरिसकेको बताए पनि प्रहरीले त्यसलाई पुष्टि गरेको छैन । प्रहरीले भने अहिले सम्म सातवटामा मात्रै आगजनी गरिएको विवरण प्राप्त भएको जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्