परम्परागत कोल प्रयोगविहीन बन्दै


 


माघ १४ सल्यान
जिल्लाको ग्रामीण भेगमा रहेका परम्परागत प्रविधिमा आधारित कोल क्रमिक रूपमा हराउँदै जान थालेका छन् । नयाँ प्रविधिको विकासक्रमसँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल गाउँबाटै लोप हुँदै गएको स्थानीयहरू बताउँछन् ।

ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा डिजेल मिलको विस्तारसँगै परम्परागत कोल लोप हुँदै जान थालेको कुमाख गाउँपालिका–६ वडागाउँका देव शर्माले बताए । तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हँुदै गएको तथा बजारमा प्याकिङ गरेर खाने तेल आउन थालेपछि कोल हराउँदै गएको उनको भनाइ छ ।

उनले भने, ‘बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् ।’

कोल लोपसँगै सामूहिक भावनामा पनि बिस्तारै दरार पर्दै गएको उनले बताए । गाउँबाट कोल लोप हँुदै गएको प्रति चिन्ता व्यक्त गर्दै शर्माले भने, ‘के कस्तो जमाना आयो तेलबाली लगाउन पनि छोडे, उखु लगाउन छोडे सबै बजारमै पाइहालिन्छ भन्दै सबै खेती गर्न माया मारिसके । ’

हिउँदको समयमा प्रायः मानिसहरू फुर्सदिला हुने भएकाले गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर प्रत्येक परिवारले पालैपालो चिउरी, तोरी पेल्ने चलन थियो । आजभोलि कोल हराइसकेको छ, बजारमा सजिलै हरेक चिज किन्न सकिने भएपछि मानिसहरू पनि काम गर्न छोडे अर्का किसान हरिलाल शर्माले बताए ।

उनले भने, ‘पहिले त कोल प्रायः सामुदायिक हुन्थ्ये । गाउँभरिकै एउटै कोल भएकाले गाउँभरिका जम्मा भएर पालैपालो तेल पेल्ने र कोललका खाँबा फेर्नु परेमा समुदायका सबै जम्मा भएर ल्याउने गथ्र्यौं तर आजभोलि त कोल गाउँमा देख्न पनि पाइँदैन ।’

विगतमा जिल्लाभर सयौंको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । कोलमा तेल पेल्नका लागि बढि जनशक्ति सँगै शारीरिक श्रम पनि बढी लाग्ने तर बजारमा सजिलै बजारमा तेल किन्न पाइने भएपछि कोल लोप हुने अवस्थामा पुगेको हो । कोलसँगै गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेसिनहरू हराउँदै गइरहेका छन् ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्