पहिचानका लागि ढाकाटोपीमा सजिन्छन् बाँकेका मुस्लिम


 


बाँके नेपालगन्जमा बसोबास गर्दै आएका मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको संख्या बढ्दो छ । नेपालगन्जका अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर बाहिर निस्कन्छन् । कार्यक्रम, समारोह र पाटीमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउने गरेका छन् ।

राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको समाजसेवी मोहम्मद हारुनले बताए । ‘धर्मगुरुदेखि सर्वसाधारण मुुस्लिमले नेपाली टोपी प्रयोग गर्छन्,’ उनले भने ।

उनले मुस्लिम समुदायमा टोपी लगाउने परम्परा भएको बताए । कुनै शुभकार्य वा धार्मिक कार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको उनको भनाइ छ । नेपालगन्जका मुस्लिमले टोपीलाई नेपाली पहिचानसँग जोडेर हेर्ने गरेका छन् । त्यसमध्ये नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरका मेराज अहमद हलवाई पनि एक हुन् । पसलमा बस्दा होस् वा घरबाहिर जाँदा ढाकाटोपी लगाउँछन् । ‘नेपालीको पहिचान झल्काउन ढाकाटोपी लगाउँछु,’ उनले भने ।

ढाकाटोपी नलगाउँदा नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका रहमान मियाँलाई के–के बिर्से जस्तो लाग्छ । बाल्यकालदेखि नै उनले ढाकाटोपी लगाएकाले नलगाउँदा उनलाई खल्लो महसुस हुन्छ । घरबाहिर निस्कँदा पूर्वसांसद अब्दुल हमिद सिद्धिकी पनि ढाकाटोपी लगाएर मात्र निस्कन्छन् ।

बाहिरी देशमा नेपाली मुस्लिमको सम्मान
नेपाली भएको चिनाउने एक मात्र माध्ययम ढाकाटोपी भएकोेले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको नेपालगन्जका व्यापारी मोहम्मद सफिक बागवानले बताए । उनले हजका लागि साउदी अरेबियाको मक्का–मदिना गएको वेला ढाकाटोपीले नेपाली मुस्लिम भएको परिचय गराएको स्मरण गरे । ‘मलाई ढाकाटोपी लगाएको देखेर अरबमा बस्दै आएका एकजना नेपाली दौडिँदै आएर मलाई भेटे,’ उनले भने, ‘टोपीले नै म नेपाली मुस्लिम भएको परिचय गरायो ।’

नेपाली टोपी लगाएर भारतमा जाँदा सम्मान मिल्ने गरेको हाजी मोबिन अहमदले बताए । ‘भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक व्यवहार पाइन्छ,’ उनले भने ।

इस्लाम धर्ममा टोपी अनिवार्य
भगवान्को अगाडि टाउको देखाउन हुँदैन भन्ने धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभ साइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्म गुरु मौलाना जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र कुनै शुभ कार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको जानकारी दिए ।

‘अरू टोपी लगाउँदा पनि हुन्छ, तर धेरैजसो मुस्लिम धर्मका अगुवाले ढाकाटोपी लगाउने गरेका छन्,’ उनले भने, ‘ अन्यभन्दा देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ ।’

टोपीको व्यापार सन्तोषजनक
नेपालगन्जमा ढाकाटोपीको व्यापार सन्तोषजनक भएको घरबारी टोलस्थित पाल्पाली ढाकाटोपी पसलका प्रोप्राइटर कृष्णप्रसाद कँडेलले बताए । उनले विक्रम सम्वत् ०४२ सालदेखि नेपालगन्जमा ढाकाटोपीको व्यापार गर्दै आएको बताए ।

ढाकाटोपीको व्यापार धेरै राम्रो नभए पनि खान लाउन पुगेको उनको भनाइ छ । पञ्चायत कालको तुलनामा पछिल्लो समय टोपीको व्यापार केही खस्किएको बताउँदै उनले पूजाआजा, विवाहमा प्रयोग गर्नका लागि सर्वसाधारणले टोपी किन्ने गरेको बताए ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्