कांग्रेस नेतृत्वमाथि प्रश्न : वाइडबडी खरिदमा भएको भ्रष्टाचारको विरोध गर्नुपर्दैन ?


 


काठमाडौँ, माघ १३

नेपाली कांग्रेसको केन्द्रीय समितिमा वाइडबडी खरिदमा भएको भ्रष्टाचारको विषयमा कुरा उठेको छ । वाइडबडीमा ठूलै भ्रष्टाचार भएको र त्यसमा कांग्रेस चुप रहेकोप्रति कांग्रेसकै केन्द्रीय समिति सदस्यहरूले खबरदारी गरेका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा आन्दोलनका कार्यक्रमहरू तय गर्नका लागि भन्दै केन्द्रीय समिति बैठक बसेको थियो । सरकारले बलपूर्वक चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसका भातृसंगठनहरू आइतबारदेखि नै आन्दोलन शुरू गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङ र अर्जुन नरसिंह केसीले वाइडबडी खरिदकाण्डमा कांग्रेस चुप रहेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । महासमितिको बैठक अघि नै वाइडबडी खरिदमा भएको भ्रष्टाचारको विरुद्धमा सशक्त आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस अहिले तै चुप, मै चुपको स्थितिमा छ ।

बैठकमा सहभागी एक सदस्यका अनुसार निर्मला पन्त को हत्यारा पत्ता लगाउनुपर्ने र गोविन्द केसीको जीवनरक्षाको माग मात्र नभएर देशैभर देखिएका भ्रष्टाचारको विरुद्धमा पनि कांग्रेसले सशक्त अभियान चाल्नुपर्ने पक्षमा कांग्रेस देखिएको छ । वाइडबडी खरिद काण्डमा भएको भ्रष्टाचारको कुरा नउठाए कांग्रेसले के का लागि विरोधसभाको आयोजना गर्नुपर्यो ? भन्दै धनराज गुरुङले केन्द्रीय समिति बैठकमा प्रश्न गरेका थिए ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्