भन्सारमा सरकारको जादु, गत बर्षभन्दा तेब्बर राजश्व असुली


 


कैलाली, माघ १३

छोटी भन्सार कार्यालय खक्रौलामा स्तरोन्नति गरिएको तीन महीनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा तेब्बर राजश्व असुली भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सवै भन्सार कार्यालयमा निगरानी गर्नुका साथै सेवा प्रवाहमा सुधारको पहल गरेपछि सो भन्सारले गत बर्ष भन्दा तेब्बर राजस्व असुली गरेको हो ।

गत कात्तिक ५ गतेदेखि काम थालेको सो भन्सारमा यही माघ ११ गतेसम्म एक करोड ८६ लाख ४६ हजार रुपैया राजश्व सङ्कलन भएको छ । छोटी भन्सार हुँदा गत वर्षको यही अवधिमा ५५ लाख ५८ हजार रुपैया मात्र राजश्व सङ्कलन गरेको थियो ।

खक्रौला भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले आगामी फागुनबाट मासिक एक करोड रुपैया राजश्व उठने लक्ष्य लिइएको बताउनुभयो । उहाँले बाटोको स्तरोन्नति, व्यापार सहजीकरण, व्यापारीसँगको समन्वय र चोरी तस्करी नियन्त्रण गर्ने नीतिलाई कार्यालयले प्राथमिकता दिइरहेको बताउनुभयो ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्