अब डा.केसीले अनशन फिर्ता लिए उनकै गरिमा बढ्छ : शिक्षामन्त्री पोखरेल


 


१३ माघ, काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्टर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विद्येयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले विद्येयकले सबै विषयलाई समेटेको दाबी गरे । उनले भने, ‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यहि बेलामा अनशनको बाटो किन पक्रिनुभयो ? अचम्म लागेको छ । म अनुरोध गर्न चाहन्छु जनप्रतिनिधि संस्थाको सर्वोच्चतालाई ध्यान दिँदै र सम्मान गर्दै उहाँले अनशन फिर्ता लिइदिनुपर्छ ।’

साक्षात्कारमा बोल्दै उनले डाक्टर केसीले अनशन फिर्ता लिएपछि नै केसीको गरिमा बढ्ने दाबी गरे । मन्त्री पोखरेलले भने, ‘यो विद्येयक उहाँको पनि योगदानको कारणले पास भएको छ । र, अब अर्को शैक्षिक सत्रलाई हेर्दाखेरि विद्येयक पास गर्न ढिला भएको छ, म त अघिल्लो वर्ष चैत्रमा आएर यो लिएर आएको थिएँ । त्यतिखेर एउटा राम्रो सम्वाद हुन सकेन ।’

त्यतिवेला पर्याप्त सम्वाद हुन नसक्दा अविश्वासजस्तो सिर्जना भएपनि अन्ततः सरकारले सहमति गरेको मन्त्री पोखरेलले सुनाए । उनले भने, ‘त्यो सहमतिलाई टेकेर यो बनेको छ । यसपटक संसदमा पनि केही नयाँ विशेषता देखापरेको छ । यो पनि म तपाईहरुलाई भन्न चाहन्छु । माननीय सदस्यहरुले सरकारले गरेको सहमतिको मूल पक्षलाई ध्यान दिँदै आफ्नो अन्य नयाँ विषयहरु पनि संसदमा राख्नुभयो । र, समितिले अंगिकार गर्यो ।’

मन्त्री पोखरेलले चिकित्सा शिक्षा विद्येयक पारितलाई सर्वाधिक ठूलो उपलब्धिको रुपमा चित्रण गरे । उनले थपे,‘यो सर्वाधिक ठूलो उपलब्धिलाई अब राष्ट्रिय सभाबाट पारित गरेर चाँडो ऐन बनाएर चाँडो कार्यान्वयन गर्नुपर्यो । अहिले हामी माघमा छौं । फागुण, चैत्र र बैशाखभित्र हामीले यी सबै आयोग, निर्देशानालयहरु गठन गरेर अनि साझा परीक्षा प्रणाली गर्नेगरि अघि बढ्नुपर्नेछ । जति विलम्ब हुन्छ, त्यति नै यो सुधारको प्रक्रियालाई असर पर्छ । त्यसकारण यो पक्षलाई पनि ध्यान दिन म सबैलाई आग्रह गर्दछु ।’

उनले आफूहरु निर्वाचित भएर आएको र यो प्रजातान्त्रिक सरकार भएको सुनाउँदै सबैले कानुनको शासनलाई मान्नुपर्ने बताए । उनले डाक्टर केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेलहरु उपस्थित् भएर सहमति गर्दा सम्झौतामा लेखिएका कुराहरु संसदको बाटो भएर टुँग्याईन्छ भनेर त्यतिखेरै कुरा भएको पनि सुनाए । उनले भने,‘तपाईले कागजमा जे लेख्नुभएको छ, त्यही विद्येयक बन्ने हो भने त किन विद्येयक बनाउनुपर्यो र ? विद्येयक बनाउने आफ्ना विधि र प्रक्रिया छन् । कानुन मन्त्रालयको त्यसमा भूमिका छ ।’

उनले नेपालकै ईतिहासमा अहिलेसम्म गरिएका सहमति र सम्झौताको मूल मर्मलाई पक्रिएर यो विद्येयक बनेको दाबी गरे । आफूले डाक्टर केसीलाई सम्मान गर्ने सुनाउँदै मन्त्री पोखरेलले भने,‘चिकित्सा शिक्षाको सुधारको लागि उहाँले जसरी आवाज उठानुभयो त्यसलाई धेरैले साथ दियौं । तपाई हामी सबैले साथ दियौं । तर, अहिले आईपुग्दा उहाँ अरु राजनीतिक मुद्दा पनि लिएर आउनुभएको छ ।

अचम्म लाग्यो–किन यो ढंगले पेश हुनुभयो ?। डाक्टर केसी अहिलेपनि अनशनमा हुनुहुन्छ । उहाँका वक्तव्यहरु सबै उहाँले नै तयार गर्न सक्नुहुन्छ जस्तो लाग्दैन् । जे÷जस्ता भाषाहरु प्रयोग भैरहेका छन् ।त्यसले समझदारी बनाउँदैन् । बरु, द्वन्द्व चर्काउने काम गर्छ ।’लामो समयपछि ५ वर्षको लागि एउटा सरकार आएको सुनाउँदै उनले वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताए ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्