डेढ घण्टाभन्दा बढी नेपाली आकाशमा घुमेपछि बल्ल अवतरण भयो कतार एयरवेजको जहाज


 


काठमाण्डौ – कतारको दोहाबाट आएको जहाज डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान १० : ३० बजे अवतरण हुनुपर्ने जहाज खराब मौसम र विमानस्थलको चापका कारण १२ : १२ मा मात्र अवतरण भएको हो ।

अवतरण हुनुअघि जहाजले १० पटक आकाशमा फन्को लगाएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि पनि जहाज अवतरण हुन नसक्दा तीनपटक विमानस्थलमाथिकै आकाशमा घुम्नुपरेको थियो । त्यसपछि फेरि सिमरामाथिकै आकाशमा पुगेर फन्को लगाएपछि जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

सामान्यतया विमानस्थलमा चाप भएर ‘होल्ड’ गर्नुपर्दा जहाज सिमरामाथिको आकाशमा घुम्ने गर्छन् । कतार एयरवेजले भने विमानस्थलमाथिकै आकाशमा तीनपटक फन्का लगाएको थियो ।

मौसमको खराबीका कारण आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर उडान र अवतरण अवरुद्ध भएको थियो । मौसम खुलेपछि एकैपटक जहाज आइपुग्दा चाप बढेको विमानस्थल कार्यालयले जनाएको छ । अरु जहाज पनि आकाशमा फन्को लगाउँदै अवतरण गरिरहेका छन् ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्