धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमाबाटै श्रम गरे मलेसिया जान पाउँदा कामदार दंग


 


धनगढी माघ १३ वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा रहेका कैलालीको गौरीगंगा नगरपालिकाका गोरखबहादुर खवास शुक्रबार धनगढीको श्रम तथा रोजगार कार्यालयमा प्रशन्न मुद्रामा देखिए । सुदूर पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित तथा रोजगार कार्यालयमा शुक्रबार वैदेशिक रोजगार डेस्कको शुभारम्भ गरिएको थियो ।

‘यसअघिसम्म राजधानी काठमाडौंबाट श्रम स्वीकृति लिने क्रममा निकै खर्चिलो र विभिन्न कठिनाइको सामना गर्नुपथ्र्यो’ सेवाग्राही खवासले भने ‘अब भने मुक्ति पाइने भइयो ।’

नौ वर्षदेखि मलेसियाको जुस बनाउने कम्पनीमा कार्यरत खवास त्यहाँ दैनिक आठ घण्टा काम गर्नुपर्ने कम्पनीको नियम रहेकामा थप समयमा गर्दा थप पारिश्रमिक समेत पाउने गरेको बताउँछन् । ‘श्रम स्वीकृति लिँदा हुने झमेला र तनाब सबै हटे’ उनले भने ‘अब सिधै टिकट काटेर मलेसिया उड्न पाइने भयो ।’

साउदीमा स्काइफोल्डिङको काम गर्दै आएका धनगढी उपमहानगरपालिका—२ का अर्का सेवाग्राही रामबहादुर सिंहले पहिलोपटक आफ्नै गाउँठाउँमा श्रम स्वीकृति लिन पाउँदा ठूलो राहत मिलेको प्रतिक्रिया दिए । ‘अघिल्लो पटक मेनपावर कम्पनिमार्फत श्रम स्वीकृतिको कागजात बनाउँदा काठमाडौंमा बसोवासको खर्चबाहेक सात हजार रुपैयाा शुल्क तिर्नुपरेको थियो’ सिंहले भने, ‘अहिले आफैँले अनलाइनबाट छ हजार पाँच सय रकम जम्मा गरेर आफ्नै ठाउँमा श्रम स्वीकृति मिल्दा सहज मात्र भएको छैन, विगतमा जस्तो दलालहरुको चंगुलमा पर्नुपर्ने र लामो लाइन लाग्नुपर्ने बाध्यता पनि हटेको छ ।’ सिंह वैदेशिक रोजगारीका लागि तेस्रो पटक साउदी जाने तयारीमा छन् ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उनीहरु दुबै जनाको राहदानीमा श्रम स्वीकृतिको स्टिकर टाँसेर हस्तान्तरण गर्दै वैदेशिक रोजगार डेस्कको शुभारम्भ गरे । मन्त्री सुवेदीले संघीयताको मर्मअनुरुप नै सरकारले प्रदेशस्तरबाट नै श्रम स्वीकृति दिन शुरु गरेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले वैदेशिक रोजगार डेस्कबाट हुने कामले सेवाग्राहीको समय र पैसा बचत हुने विश्वास व्यक्त गरे ।
श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्णानन्द जोशीले श्रम स्वीकृति प्रदेशस्तरबाट नै दिने व्यवस्था गरिएकाले वैदेशिक रोजगारी व्यवस्थित र सुरक्षित बनाउन समेत टेवा पुग्ने बताए । धनगढीमा स्थापना गरिएको वैदेशिक रोजगार डेस्कबाट छुट्टीमा आएर सोही मुलुकमा जान चाहनेलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री)को सेवा दिन सकिने व्यवस्था गरिएको छ । पहिलोपटक वैदेशिक रोजगारीमा जानेले भने राजधानीमा रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिनुपर्ने जनाइएको छ ।

यस्तै मेनपावरमार्फत् जानेहहरुको हकमा सोही कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा वैदेशिक रोजगारीमा जाने अन्य प्रदेशको तुलनामा निकै कम संख्यामा रहेको जनाइएको छ । यो प्रदेशबाट रोजगारीका लागि अन्य मुलुकभन्दा भारत जाने बढी संख्या धेरै छ ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्