अब छोरी जन्मिए एक लाख बिमा


 


काठमाडौं माघ १३

छोरीहरूको रक्षा र सम्मानमा अभियान शुरु गरेको प्रदेश–२ ले जन्मनेबित्तिकै बेटी (छोरी)को बिमा गरिदिने भएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको उसले फागनुदेखी प्रदेशभित्र जन्मिने हरेक बेटीको एक लाखको बीमा गर्ने भएको हो ।

बीमा कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । ‘पहिलो चरणमा ८ वटा जिल्लाका ८ वटा पालिका सुरु गर्दैछौं’ उनले भने, ‘आउने दिनहरूमा प्रदेशभित्रका सबै पालिकामा यो कार्यक्रम सुरु गर्छौं ।’ बीमाको प्रिमियम प्रदेश सरकारले तिर्छ र २० वर्षपछि हरेक बिमितले एक लाखको वीमा प्राप्त गर्नेछ ।

‘भोलिका दिनमा यो वीमाले छोरीहरूलाई शिक्षा हाँसिल गर्न सहयोग पुग्नेछ । यसले कम उमेरमा हुने विवाहलाई पनि रोक्छ’ मुख्यमन्त्री राउतको भनाई छ । बीमा कार्यक्रमका लागि प्रदेश सरकारले वर्षमा १ अर्ब जति व्यहोर्नुपर्ने देखिएको राउतले बताए ।

राजधानीमा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक संविधान र संघीयताविरोधी भएकोले यसलाई तत्काल फिर्ता गर्नुपर्नेमा समेत जोड दिए । मुख्यमन्त्री राउतले भने,‘यो विधेयक फिर्ता गरिएन भने प्रदेश सरकार यसको लागि सडकमा पनि संघर्ष गर्छ । कन्स्टिच्यूसनल बेन्चमा पनि मुद्दा हालेर अगाडि बढ्छ ।’

प्रहरी परिचालनदेखि लिएर शान्ति सुरक्षाको जम्मै अधिकार एउटा प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्था यी दई विधेयकमा गरिएको प्रति कडा आपत्ति जनाउँदै मुख्यमन्त्री राउतले भने,‘अब विकास निर्माणको विभिन्न किसिमका हुने अनियमितताको सन्दर्भमा पनि उनले नै छानबिन गर्ने भनेपछि प्रदेश सरकार के गर्ने ?’ उनले अधिकांश समय संघीय सरकारविरुद्ध आफ्नो आक्रोश पोखेका थिए ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्