‘नक्कली भूकम्पपिडितलाई कारबाही गर्छाैं’


 


धादिङ माघ १३

भूकम्पपीडितको नाममा दोहोरो सुविधा लिने र फर्जी विवरण दिएर सुविधा लिनेहरूको पहिचान गरी कारबाही गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

भूकम्पपीडितको नाममा दोहोरो सुविधा लिने र फर्जी विवरण दिएर सुविधा लिनेहरूको पहिचान गर्न स्थानीय तहसँग मिलेर समस्या समाधानको पहल भइरहेको समेत उनले बताए । अहिले प्राधिकरण तथा कुनै पनि सरकारी निकायसँग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पीडितहरूको पहिचानमा ढिलाइ भइरहेकोले स्थानीय तहलाई त्यस्ता व्यक्तिको विवरण पठाइदिन आग्रह गरिएको र सार्वजनिक सूचना पनि प्रकाशित भइरहेको ज्ञवालीले बताए ।

भूकम्प गएको यत्तिका समय भइसक्दा पनि पीडितहरूको आवासका साथै विद्यालय, स्वास्थ्यचौकी लगायतको निर्माणमा ढिलाइ भइरहेकाले समस्या समाधानका लागि प्राधिकरणले सबै पक्षसँग छलफल गरिरहेको पनि ज्ञवालीले जानकारी दिए । प्राविधिक पक्षबाट भएको ढिलाइ अन्त्य गर्न अब प्रत्येक स्थानीय तहको मातहतमा रहने गरी छुट्टै प्राविधिक इकाइ बनाएर स्थानीय तहमा प्राविधिकहरू खटाइने तयारी भइरहेको पनि ज्ञवालीले वताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले शुक्रबार धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आयोजना गरेको निजी आवास पुनर्निर्माण कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरू विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्तो बताएका हुन् ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्राधिकरणका सहसचिव प्रकाश थापा, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख नवराज खतिवडा, अनुदान व्यवस्थापन इकाइका प्रमुख राजेन्द्र केसी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहमा कार्यरत प्राधिकरणका इन्जिनियरहरूको सहभागिता रहेको थियो । भोगोलिक विकटता, सूचना प्रविधिको पहुँचमा कमीजस्ता कारणले समयमै प्रतिवेदन तथा फोटो पठाउन नसकिएको धादिङका इन्जिनियरहरूको गुनासो थियो ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्