सरकारबिरुद्ध काँग्रेस आजदेखी सडकमा


 


काठमाडौं, माघ १३

सरकारका कार्यशैलीको बिरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजदेखि प्रदर्शन सुरु गर्ने भएको छ । तरुण दल, महिला संघ र नेविसंघले आज राजधानीमा संयुक्त विरोध जुलुस निकाल्ने जनाएका छन् ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार पार्टीले आयोजना गर्ने विरोध कार्यक्रम भने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरेर तय गरिनेछ । बिहीबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक आजदेखि पुन : बस्दै छ । बैठकमा आन्तरिक विषयका अतिरिक्त सरकारविरुद्ध कसरी उत्रने भन्नेबारे छलफल हुने महतले बताउनुभयो ।

‘देशव्यापी विरोध गर्छौं, कुन मोडलमा विरोध गर्ने भन्नेबारे कार्यसमितिले तय गर्नेछ,’ महतले भन्नुभयो, ‘संवैधानिक प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतालाई धज्जी उडाउने काम भएकाले बाध्य भएर सरकारविरुद्ध संघर्ष गर्न लागेका हौं ।’

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्मा प्रतिपक्षले वेल घेराउ गर्दासमेत सभामुखबाट संसद्को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघबाट हटाइएको घटनाले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको निष्कर्ष छ ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्