एउटा दुर्लभ दमाहाको रोचक किंवदन्ती


 


सल्यान । सल्यान जिल्लाको पश्चिम क्षेत्रमा पर्ने कालीमाटी गाउँपालिकाको पोखरा बजारदेखि माथि रहेको अग्लो डाँडोमा ठूलो चौर छ, जसलाई कोट भन्ने गरिन्छ । कोटको पूर्वी क्षेत्रमा दशैँघर निर्माण गरिएको छ । यहाँ बडादशैँ र चैतेदशैँमा पूजाआजा गरीबलि चढाउने परम्परा छ । छेवैमा कमलाक्षी भगवतीको मन्दिर छ । यस मन्दिर प्रांगणमा ढुंगाको दमाहा राखिएको छ ।

मन्दिरको प्रवेशद्वारनजिकै पूर्वपट्टि दमाहा आकारको ढुंगा छ । बजाइने सामान्य दमाहाजस्तै देखिइने यसको तौल १ सय ५० केजीभन्दा बढीभएको बताइन्छ ।

दमाहाको किंवदन्ती रोचक छ । स्थानीय बासिन्दाका अनुसार यो दमाहा लक्ष्मीपुर गाविसको श्रीखोलाबाट ल्याइएको हो । कमलाक्षी भगवती मन्दिरका पुजारी प्राण रावतले सपनामा देवीको साक्षात्दर्शन पाए । ‘मैले लक्ष्मीपुरको श्रीखोलामा दमाहा छोडेकी छु, त्यो ल्याएर मन्दिरबाहिर राख्नू’भनेर देवी अन्तरध्यान भइछन् । भोलिपल्ट पुजारी रावतले श्रीखोलामा दमाहा भेटे र बोकेर मन्दिरमा ल्याएर राखे ।

दमाहासँगै अर्को ढुंगा पनि रहेको छ । ढुंगामा गाईको खुरको आकृति भएकाले त्यसको पनि पूजाआजा हुने गरेको छ । यस स्थानमा दशैँको बेला देवी आएर विराजमान हुने जनविश्वास छ ।

मन्दिरलाई तालाबन्दी गरेको भए पनि दमाहा बाहिर राखिएको हुँदा यो जीर्ण बन्दै गएको छ । ढुंगे दमाहाको पत्र–पत्र निस्किँदै जाँदा यसको आकार सानो हुँदै गएको छ । मन्दिरको राम्रो व्यवस्थापन हुने हो भने यो अद्भुत दमाहा पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्